नयाँ शक्ति प्रदेश नंं. ४ को पूर्ण बैठक वैकल्पिक सरकार गठन गर्दै सम्पन्न

२१ चैत २०७४

पोखरा । सुन्दर पर्यटकीय स्थल तथा कृषि अनुसन्धान केन्द्र लुम्लेमा चैत्र १९ र २० गते नयाँ शक्ति पार्टी नेपाल, प्रदेश नं. ४ को पाँचौ कार्यकारी पूर्ण बैठक बैकल्पिक सरकारको गठनगर्दै सम्पन्न भएको छ । गत प्रादेशिक निर्वाचनमा थ्रेसहोल्ड पार गरी प्रदेश सभामा २ जना सांसद रहेका सो पार्टीको वैकल्पिक सरकारको प्रमुखमा प्रदेश सभा सदस्य हरिशरण आचार्य रहनु भएको छ ।

त्यस्तै प्रादेशिक सरकारको ढाँचा अनुसार आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्थापन कृषि तथा सहरकारी, आन्तरिक मामिला तथा कानुन र सामाजिक विकास मन्त्रालयहरु हेर्ने गरी क्रमशः मोति रिजाल, धनमाया लामा, खड्ग बहादुर गुरुङ्ग, लक्ष्मी खाती परियार, गुणाखर बस्याल, गोपेन्द्र केशरी न्यौपाने वैकल्पिक सरकारका सदस्यमा मनोनित हुनु भएको छ ।

प्रदेश नं. ४ का संयोजक देवीप्रसाद सुवेदीको अध्यक्षता र प्रदेश इञ्चार्ज रुद्र बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सञ्चालन भएको र प्रदेश नं. ४ अन्तर्गतका ११ जिल्लाका ७० जना कार्यकारी सदस्यहरुको सहभागिता रहेको सो बैठकले पार्टीको राजनीतिक तथा सांगठनिक विषयमा महत्वपूर्ण निर्णयहरु लिएको छ । जसअनुसार पार्टीले यस प्रदेश अन्तर्गतका ८४ वटै स्थानिय तहहरुमा वैकल्पिक सरकार गठन गर्ने, पार्टी सदस्यता नविकरण तथा संगठन विस्तारलाई तिव्र बनाउने निर्णय लिएको छ । बैठकले प्रदेश अन्तर्गतका विभिन्न आयोग, विभाग, आंगिक तथा पेशागत संगठनहरुको समेत गठन र त्यसको जिम्मेवारी बाडफाँड गरेको छ ।


बैठकले अनुसाशन तथा सदाचार आयोगमा शम्भु खाँती परियार, संगठन विभागमा रमेश पोखरेल, प्रशिक्षण विभाग दामोदर त्रिपाठी, सचिवालय तथा कार्यालय व्यवस्थापन विभाग दिनेश पौडेल, राजनीतिक संवाद तथा जनपरिचालन हेमबहादुर थापा, आन्तरिक श्रोत परिचालन डम्बर बहादुर के.सी., अनुगमन तथा मुल्याङ्कन विभागमा गुणाखर बस्याल, साँस्कृतिक विभाग पार्वती जि.सी., सहिद बेपत्ता तथा द्वन्द्वपीडित विभागमा रोहितप्रसाद पाण्डे, उत्पादन तथा स्वरोजगार विभाग सरोज खरेल र स्वास्थ्य विभागमा डा. अमर नागिलालाई प्रमुखहरुको जिम्मेवारी प्रदान गरेको छ ।

यसैगरी आंगिक तथा पेशागत संघ–संगठन अन्तर्गतः विद्यार्थीमा सन्दिप अधिकारी, युवामा चित्र साप्कोटा, महिलामा धनमाया लामा, मजदुरमा प्रेम न्यौपाने, किसानमा विपिन चन्द्र ढकाल, दलितमा लाल बहादुर वि.क., पूर्व सुरक्षाकर्मी विभागमा गेहराज पौडेल, पेशागतमा नारायण खत्री, कानुन व्यावसायीमा देवेन्द्र थापा, वेतनधारी ज्ञानेन्द्र कुमाल, राष्ट्रिय मामिला खड्ग गुरुङलाई इञ्चार्ज तोकेको छ । सो बैठकले ५१ सदस्यीय कार्यकारी समिति, ११ सदस्यीय विज्ञ परिषद र ११ सदस्यीय संरक्षक परिषदको गठन गरेको छ । साथै बैठकले १९९ सदस्यीय प्रदेश परिषद गठन पनि गरेको छ ।


बैठक सञ्चालनको क्रममा नयाँ शक्ति अभियन्ता तथा प्रशिक्षक राजु के.सी.ले नेतृत्व विकास सम्बन्धि प्रशिक्षण दिनुभएको थियो । पूर्व प्रदेश इञ्चार्ज देवेन्द्र पराजुलीले राजनीतिक प्रशिक्षण प्रदान गर्नुभयो भने प्रदेश इञ्चार्ज गुरुङले समसामयिक राजनीति र नयाँ शक्ति आगामी दिनमा गर्ने कार्यहरुका सम्बन्धमा आवश्यक निर्देशन दिनुभएको थियो ।

त्यस्तै समापन कार्यक्रममा मन्तब्य राख्दै नारायण भण्डारीले सहभागीहरुले लुम्लेमा उत्साहपूर्वक बैठकमा भाग लिएकोमा सबैलाई धन्यवाद दिनुभयो । प्रदेश सांसदहरुले सो बैकठमा आफ्नो मन्तव्य राख्दै प्रदेश सभामा नयाँ शक्तिको भूमिकालाई प्रभावकारी बनाउन सबै पार्टी सदस्यले आ-आफ्नो ठाउँबाट संसदीय दललाई सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रमको समापन गर्दै बैठकका अध्यक्षले पूर्ण बैठकले गरेका निर्णयहरुलाई तदारुक्ताका साथ कार्यान्वयन गर्न सबै जिल्ला र स्थानीय तहका सदस्यहरुको सक्रियता आवश्यक भएको बताउदै केही वर्ष भित्र नयाँ शक्तिलाई एक सशक्त राजनीतिक शक्तिको रुपमा स्थापित गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको जानकारी दिनेश पौडेलले दिनुभयो ।