नयाँ शक्ति पार्टी दाङको विस्तारित बैठक सम्पन्न

२४ चैत, २०७४

लमही – नयाँ शक्ति पार्टी, नेपाल जिल्ला समन्वय समिति दाङको विस्तारित बैठक सम्पन्न भएको छ । शनिबार दाङको लमहीमा सम्पन्न बैठकले जिल्ला अन्तर्गतका विभिन्न स्थानीय तहहरुमा खबरदारी गर्न वैकल्पिक स्थानीय सरकार गठन गरेको छ । 

जस अन्तर्गत नयाँ शक्तिले तुल्सिपुर उपमहानगरपालिकाको वैकल्पिक नगरप्रमुखमा जीवन भण्डारी तथा घोराही उपमहानगरपालिकाको वैकल्पिक नगरप्रमुखमा पदमा बानियाँलाई चयन गरेको छ । लमही नगरपालिकाको वैकल्पिक नगरप्रमुखमा एक राज चौधरी तथा उपप्रमुखमा विष्णु कुमारी डिसीलाई चयन गरेको छ ।

त्यस्तै गाउँपालिका अन्तर्गत राप्ती गाउँपालिका प्रमुखमा राधेश्याम चौधरी एवं उपप्रमुखमा भूमि गुरुङ, गढवा गाउँपालिका प्रमुखमा दिल बहादुर महतरा एवं उपप्रमुखमा बाल कुमारी चौधरी, बंगलाचुरी गाउँपालिका प्रमुखमा गीता पुन र राजपुर गाउँपालिका प्रमुखमा माघीराम चौधरीलाई चयन गरेको छ । नयाँ शक्तिले केन्द्रदेखि प्रदेश हुँदै स्थानीय तहमा हुने सरकारी कामकाजलाई निगरानी गर्दै नागरिकको समस्या समाधानमा सहयोग गर्न वैकल्पिक सरकार गठन गरेको पार्टीका जिल्ला ईन्चार्ज हरि रिजालले बताउनुभयो ।

त्यसैगरी बैठकले सांगठनिक कार्यविभाजन गर्दै विभिन्न विभागहरु गठन गरेको छ । जसअन्तर्गत आर्थिक स्रोत परिचालन तथा उत्पादन स्वरोजगार विभाग प्रमुखमा होम प्रसाद शर्मा एवं उपप्रमुखमा नारायण पुरीलाई चयन गरेको छ । बैठकले सूचना, सञ्चार तथा प्रचार प्रसार विभागको जिम्मेवारी कृष्ण चौधरीलाई दिएको छ भने प्रशिक्षण विभागको जिम्मेवारी जीवन भण्डारीलाई प्रदान गरेको छ ।


त्यस्तै आंगिक संगठन प्रमुखमा एकराज चौधरी, पेशागत संगठन प्रमुखमा गगन शाह, महिला प्रमुखमा बाल कुमारी चौधरी, विद्यार्थीमा भुप बहादुर बस्नेत, युवामा नारायण रिजाल, दलितमा पञ्चराम विकलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का प्रवक्ता मनिकर कार्कीले नयाँ शक्तिले समुन्नत समाजवादलाई राजनीतिक गन्तव्यको रुपमा परिभाषित गरेको बताउँदै ‘५ स’को माध्यमबाट देशलाई समृद्ध बनाउने लक्ष्य लिएको बताउनुभयो । उहाँले राजनीतिका लागि विचार र एजेण्डा नै मुख्य भएकोमा नयाँ शक्तिले स्पष्ट विचार र एजेण्डा पस्किएकोले नयाँ शक्ति अबको केही वर्षभित्र सशक्त वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबी गर्नुभयो ।

जिल्ला ईन्चार्ज हरि रिजालले पुराना पार्टीहरुको विचार, कार्यशैली, संस्कार र चिन्तनले अबको युगको माग सम्बोधन गर्न नसक्ने बताउँदै नयाँ युगको नेतृत्व गर्नका लागि नयाँ शक्ति मैदानमा उत्रिएको बताउनुभयो । पार्टीका जिल्ला संयोजक सुरेन्द्र प्रकाश चन्दको अध्यक्षता तथा जीवन भण्डारीको संचालनमा सम्पन्न बैठकले ९९ सदस्यीय जिल्ला परिषद् गठन गरेको छ भने जिल्लामा संगठन विस्तार गर्दै सबै स्थानीय तहहरुमा संगठन निर्माण गर्ने निर्णय गरेको छ ।