नयाँ शक्ति गुल्मीले तोक्यो स्थानीय तहहरुमा ईन्चार्ज 

२९ चैत २०७४

तम्घास । नयाँ शक्ति पार्टी, नेपाल जिल्ला समन्वय समिति गुल्मीको विस्तारित बैठक सम्पन्न भएको छ । बुधबार तम्घासमा सम्पन्न बैठकले जिल्ला अन्तर्गतका स्थानीय तहहरुमा ईन्चार्ज चयन गर्दै विभिन्न विभागहरु गठन गरेको छ । साथै बैठकले जिल्ला अन्तर्गतका स्थानीय तहहरुमा हुने विकास निर्माणका गतिविधिहरुको सूक्ष्म निगरानी गर्ने र आर्थिक अनियमितता र अपारदर्शिताको भण्डाफोर गर्ने निर्णयसमेत गरेको छ । 

 

विभिन्न स्थानीय तहहरुको कार्यविभाजन गर्दै बैठकले जिल्लास्थित दुई नगरपालिकाहरु मध्ये रेसुङ्गा नगरपालिकामा पदम खत्री र मुसिकोट नगरपालिकामा प्रकाश खराललाई ईन्चार्ज तोकेको छ । त्यस्तै धुर्कोट गाउँपालिका ईन्चार्जमा गणेश कुँवर, मदानेमा राजेन्द्र जिसी, मालिकामा खडक विक, इस्मामा प्रेम नेपाली, चन्द्रकोटमा तेज बहादुर थापा, रुरुमा घनश्याम पाण्डे, गुल्मी दरबारमा वास बहादुर थापा, सत्यवतीमा ध्रुव कुँवर, कालिगण्डकीमा सरोज कुमार गुरुङ र छत्रकोट गाउँपालिकामा जनक पन्थलाई ईन्चार्जको जिम्मेवारी दिएको जिल्ला संयोजक तेजेन्द्र थापाले बताउनुभयो । 

 

बैठकले जिल्ला संयोजक तेजेन्द्र थापाले संगठन विभागको जिम्मेवारी हेर्ने निर्णय गरेको छ भने प्रचार प्रसार विभाग तथा कार्यालय प्रमुखमा जनक पन्थ एवं आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन विभागमा पदम खत्री, अनुगमन मूल्यांकन तथा अनुशासन विभागमा घनश्याम पाण्डे, राष्ट्रिय मामिला विभागमा खडक बोहरा, उत्पादन तथा स्वरोजगार विभागमा प्रेम नेपालीलाई प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । 

 

बैठकले पेशागत संगठनको ईन्चार्जमा सरोज गुरुङ र संयोजकमा हृदयश पन्थीलाई चयन गरेको छ भने आंगिक संगठन ईन्चार्जमा खडक विकलाई चयन गरेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का कार्यालय प्रमुख कमल खनालले तोकिएको मितिभित्र स्थानीय तहहरुको गठन पुनर्गठन सम्पन्न गरी संगठनलाई चुस्त दुरुस्त बनाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको सन्दर्भमा नयाँ शक्ति मात्रै सच्चा वैकल्पिक राजनीतिक शक्ति भएकोले सबैले पुरानो मानसिकता त्यागेर आफैंलाई रुपान्तरित गर्नुपर्ने बताउनुभयो । 

 

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का प्रवक्ता मनिकर कार्कीले बदलिँदो समाजको अन्तरविरोधको पहिचान गरी त्यसको समाधान गर्दै नागरिक र समाजको हित गर्नु नै राजनीतिको उद्देश्य भएकोले नयाँ शक्तिले ‘५ स’को अवधारणमार्फत समाजको अन्तरविरोधको पहिचान र समाधानको बाटो देखाएको बताउनुभयो । उहाँले राजनीतिका लागि विचार र एजेण्डा नै मुख्य भएको भन्दै नयाँ शक्तिले समुन्नत समाजवादको गन्तव्य तय गरेर समृद्धिलाई आर्थिक आधार र समावेशी एवं सहभागितामूलक लोकतन्त्रलाई राजनीतिक आधार मानेको बताउनुभयो । 

 

बैठकमा केन्द्रीय कार्यकारी सदस्य छन्द पन्थीले रोजगारीका लागि विदेशिन बाध्य लाखौं युवाहरुलाई मताधिकारबाट बञ्चित गर्न नहुने बताउँदै ती विदेशिएका युवाहरुको मताधिकारका लागि राष्ट्रिय आन्दोलन सिर्जना गर्नुपर्ने बताउनुभयो । जिल्ला संयोजक तेजेन्द्र थापाको अध्यक्षता एवं गणेश कुँवरको संचालनमा सम्पन्न बैठकमा सहभागीहरुले रिपोर्टिङसहितको धारणा राख्नुभयो ।