नयाँ शक्तिले अर्घाखाँचीका स्थानीय तहहरुमा तोक्यो ईन्चार्ज एवं वैकल्पिक सरकार प्रमुख

१ वैशाख, २०७५

सन्धिखर्क – नयाँ शक्ति पार्टी, नेपाल जिल्ला समन्वय समिति अर्घाखाँचीको विस्तारित बैठक सम्पन्न भएको छ । शुक्रबार सन्धिखर्कमा सम्पन्न बैठकले जिल्ला अन्तर्गतका स्थानीय तहहरुमा पार्टी ईन्चार्ज तथा वैकल्पिक नगरपालिका तथा गाउँपालिका प्रमुख चयन गरेको छ । बैठकले जिल्ला अन्तर्गतका स्थानीय तहहरुमा हुने विकास निर्माणका गतिविधिहरुको सूक्ष्म निगरानी गर्ने र आर्थिक अनियमितता र अपारदर्शिताको भण्डाफोर गर्ने उद्देश्यसहित वैकल्पिक प्रमुखको व्यवस्था गरेको हो ।

विभिन्न स्थानीय तहहरुको कार्यविभाजन गर्दै बैठकले जिल्लास्थित सन्धिखर्क नगरपालिकामा टोप बहादुर बलाललाई नगर ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै शितगंगा नगरपालिकामा टुक बहादुर तिवारी, भुमिकास्थान नगरपालिकामा सालिकराम बन्जाडेलाई ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । मालारानी गाउँपालिकामा जिन्दक खड्का ईन्चार्ज एवं महेन्द्र सुनुवारलाई संयोजक तोकेको छ भने पाणिनी गाउँपालिकामा लिलावती पाण्डेलाई ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरी बैठकले विभिन्न स्थानीय तहहरुमा वैकल्पिक प्रमुखहरु चयन गरेको छ । जस अन्तर्गत सन्धिखर्क नगरपालिकामा टोपलाल बलाललाई वैकल्पिक नगरप्रमुख एवं रमा आचार्यलाई उपप्रमुख, मलारानी गाउँपालिकाको वैकल्पिक प्रमुखमा जिन्दक खड्का र उपप्रमुखमा उषापुरी थापा तथा पाणिनी गाउँपालिकाको वैकल्पिक प्रमुखमा लिलावती पाण्डे र उपप्रमुखमा विष्णु पाण्डेलाई चयन गरेको छ ।

बैठकले जिल्ला संयोजक गोकर्ण थापाले संगठन विभागको जिम्मेवारी हेर्ने निर्णय गरेको छ भने केही विभागहरुलाई पुनर्गठन गरेको छ । जस अन्तर्गत आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन विभागको प्रमुखमा टोपलाल बलाल, उत्पादन तथा स्वरोजगार विभागमा माधव पोखरेल, कार्यालय प्रमुखमा पुष्करनाथ आचार्य, प्रचार प्रसार विभागमा दिनेश सुनुवार, आंगिक तथा पेशागत संगठनमा जिन्दक खड्का, जनपरिचालन तथा सामाजिक आन्दोलनमा पूर्ण श्रेष्ठलाई विभागीय प्रमुख चयन गरेको छ । त्यस्तै आंगिक संगठनहरुमध्ये महिलामा रमा आचार्य, विद्यार्थीमा भोजराज पौडेल, युवामा मनिष सिंहलाई चयन गरेको जिल्ला संयोजक गोकर्ण थापाले बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का कार्यालय प्रमुख कमल खनाल, केन्द्रीय संरक्षक परिषद् सदस्य राजु नेपाली, खिम बहादुर बिक, केन्द्रीय कार्यकारी सदस्य छन्द पन्थीलगायतले चुस्त किसिमको सांगठनिक व्यस्थापन नै पार्टी निर्माणको आधार भएकोले संगठन निर्माण र व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो । नयाँ शक्ति मात्रै सच्चा वैकल्पिक राजनीतिक शक्ति भएकोले अब पुरानो मानसिकता त्यागेर रुपान्तरित भएर संगठन निर्माणमा लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का प्रवक्ता मनिकर कार्कीले बदलिँदो समाजको अन्तरविरोधको पहिचान र त्यसको समाधान नै राजनीतिको मुख्य ध्येय भएको बताउनुभयो । उहाँले नयाँ शक्तिले अगाडि सारेको ‘५ स’को अवधारणमार्फत नै समाजको अन्तरविरोधको हल हुने र मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो ।

संगठन निर्माण र शक्ति आर्जनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था, भ्रष्टाचार र अनियमितताको भण्डाफोर, सुशासन र सुसंस्कृति राजनीतिको प्रवद्र्धन, प्रगति र समृद्धिमुखी राजनीति नै नेपाली समाजको वैकल्पिक राजनीतिक एजेण्डा भएको बताउनुभयो । जिल्ला संयोजक गोकर्ण थापाको अध्यक्षता तथा संचालनमा सम्पन्न बैठकमा सहभागीहरुले रिपोर्टिङसहितको धारणा राख्नुभयो ।