नयाँ शक्ति कपिलवस्तुको तीन महिने संगठन विस्तार कार्ययोजना

२ वैशाख, २०७५

कपिलवस्तु – नयाँ शक्ति पार्टी, नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले तीन महिने संगठन विस्तार कार्ययोजना ल्याएको छ । शनिबार कपिलवस्तुको गोरुसिंगेमा सम्पन्न जिल्ला प्रशिक्षण तथा विस्तारित बैठकले गाउँ तथा नगरपालिका भेला एवं अधिवेशन, प्रशिक्षण तथा अभिमूखीकरण, संगठन विस्तार तथा सदस्यता वितरणसम्बन्धी तीन महिने कार्ययोजना पारित गरेको हो ।

त्यसैगरी बैठकले जिल्ला अन्तर्गतका स्थानीय तहहरुमा पार्टी ईन्चार्ज तोक्नुका साथै विभिन्न विभागहरु पुनर्गठन गरेको छ । बैठकले जिल्ला समन्वय समिति पुनर्गठन गर्दै ३५ सदस्यीय समिति निर्माण गरेको छ । विभिन्न स्थानीय तहहरुको कार्यविभाजन गर्दै बैठकले जिल्लास्थित वाणगंगा नगरपालिका ईन्चार्जमा चोपलाल राहुल, बुद्धभूमि नगरपालिकामा इन्द्रमणि पौडेल, शिवराज नगरपालिकामा इलियास मुसलमान, कृष्णनगर नपामा मो. इराहक मुसलमान, महाराजगंज नपामा मुकुत यादव, कपिलवस्तु नपामा कुञ्ज बिहारी चौधरी, विजयनगर नपामा रामविनाश पुरी, यशोधरा गाउँपालिकामा राजेन्द्रमणि पाठक र शुद्धोधन गाउँपालिकामा शिवशंकर तिवारीलाई ईन्चार्जको जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै बैठकले जिल्ला पार्टीका केही विभागहरुलाई पुनर्गठन गरेको छ । जसमध्ये आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन विभाग प्रमुखको जिम्मेवारी मो. तौफिक खाँ, अनुशासन, मूल्यांकन एवं अनुगमन विभाग प्रमुखमा देव बहादुर भुसाल, उत्पादन तथा स्वरोजगार विभाग प्रमुखमा अब्दुल मोबिनलाई चयन गरेको जिल्ला ईन्चार्ज नारायण खनालले बताउनुभयो ।

त्यसैगरी बैठकले नयाँ शक्ति पार्टीका यशोधरा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष लइक पठानबारे आर्थिक लेनदेनको विषयलाई लिएर सञ्चार माध्यमहरुमा आएको समाचारप्रति ध्यान आकृष्ट गर्दै निजलाई छानबिनको अन्तिम टुंगो नलाग्दासम्म पार्टी सदस्यपदबाट निलम्बन गरी छानबिनका लागि इलियास मुसलमान, इन्द्रमणि पौडेल एवं हरगोविन्द चौधरी रहेको एक छानबिन समिति गठन गरेको छ । समितिले ५ दिनभित्र छानबिन गरी प्रतिवेदन पेश गर्ने र त्यसैका आधारमा अन्तिम कारबाहीको टुंगो लगाउने निर्णय गरेको जिल्ला ईन्चार्ज नारायण खनालले बताउनुभयो ।


बैठकका प्रमुख अतिथि नयाँ शक्ति पार्टी, प्रदेश ५ का संयोजक दान बहादुर चौधरीले प्रकृतिले नेपाललाई अथाह सम्पत्ति दिएको तर त्यसको समुचित उपयोग हुन नसकेको भन्दै अब त्यसको सहि उपयोग गरी देशलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाँले नयाँ शक्तिको ५ स नै समृद्धिको मूलमन्त्र भएकोले त्यसैमार्फत देश समृद्ध बन्ने बताउनुभयो । त्यस्तै केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का कार्यालय प्रमुख कमल खनालले चुस्त किसिमको सांगठनिक व्यस्थापन नै पार्टी निर्माणको आधार भएकोले संगठन निर्माण र व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश ५ का प्रवक्ता मनिकर कार्कीले देशमा नयाँ संविधान जारी भएसँगै राजनीतिको गन्तव्य फेरिएकोले नयाँ गन्तव्यमा पुग्नको लागि नयाँ विचार, शैली, संस्कार, कार्यक्रम र नेतृत्वसहितको नयाँ पार्टी आवश्यक भएकोले त्यो आवश्यकता पूरा गर्न नयाँ शक्ति जन्मिएको बताउनुभयो ।

अबको मुख्य राजनीतिक ऐजण्डा नै विकास, समृद्धि र नागरिकको प्रगति भएकोले राज्यसत्ताको विरुद्ध संघर्ष गर्ने उद्देश्यले जन्मिएका पुराना पार्टीहरुले राजनीतिलाई नयाँ गन्तव्यमा पुर्याउन नसक्ने बताउँदै कार्कीले नयाँ शक्तिले अगाडि सारेको ‘५ स’को अवधारणमार्फत नै समाजको अन्तरविरोधको हल हुने र मुलुक समृद्धिको बाटोमा अघि बढ्ने बताउनुभयो । जिल्ला ईन्चार्ज नारायण खनालको अध्यक्षता तथा संचालनमा सम्पन्न बैठकको प्रमुख अतिथिले विरुवामा जलसिंचन गरेर उद्घाटन गर्नुभयो ।