नयाँ शक्ति प्रचार विभागको बैठक सम्पन्न, १५ सदस्यीय विभागलाई पूर्णता

९ जेठ २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको प्रचार विभागको बैठक सम्पन्न भएको छ । विभागका प्रमुख विश्वदीप पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभागलाई पूर्णता दिनुका साथै नयाँ कार्यविभाजन गरेको छ ।

बैठकले विभागको उपप्रमुखमा सुदर्शन खतिवडालाई र कार्यालय सचिवमा मनोज ढोडारीलाई जिम्मेवारी दिएको छ । बैठक विभागको १५ सदस्यीय संचरना तय गरेको छ, जसअनुसार सातै प्रदेश र प्रवास प्रदेशबाट एक/एकजना र प्रेस सोसाइटीको संयोजक पदेन सदस्य रहने निर्णय गरेको छ । प्रेस सोसाइटीका संयोजक रुद्रप्रसाद भट्ट रहनुभएको छ भने प्रदेश ३ को संयोजक केशव अर्याल र प्रदेश ५ को संयोजक टिआर शर्मालाई प्रदेश स्तरीय बैठकले चयन गरिसकेको छ । बाँकी ६ प्रदेशबाट चयन हुन बाँकी रहेको छ ।

प्रचार विभागका अन्य सदस्यहरु बिदुर ढुंगेल, कृष्ण घिमिरे र प्रल्हाद पोखरेल रहनुभएको छ । बैठकले जेठ ६ गते काठमाडौंमा आयोजित सूचना प्रविधि र सामाजिक सञ्जालनको महत्व विषयक एक दिवसीय कार्यशाला सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै यस्ता कार्यशालालाई सातै प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकलाई शुभकामना दिँदै नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा तेस्रो ध्रुवको समाजवादी राजनीतिक विकल्प बलियो हुँदै गएको निष्कर्ष सुनाउनुभयो । उहाँले नयाँ युगमा प्रचारको काम झनै बढ्दै गएको भन्नुहुँदै यसको प्रभावकारी व्यवस्थापन र परिचालनमा जोड दिनुभयो ।

प्रचार विभाग प्रमुख पाण्डेले नयाँ युगको आवश्यकताअनुसारको पार्टी बनाउन प्रचार विभागले अग्रभागमा रहेर काम गर्ने प्रतिवद्धता जनाउनुभयो । 'पार्टी भित्र र पार्टीबाहिरको सञ्चारलाई व्यवस्थित नबनाई वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्ने समृद्धिको अभिभारा पूरा गर्ने काम गर्न सकिँदैन,' उहाँले भन्नुभयो, 'अब पार्टी र जनवर्गीय संगठनका हरेक एकाईहरुमा परम्परागत, वैकल्पिक र न्यू मिडियाको प्रयोगमार्फत राजनीतिक सञ्चार गर्नेगरी योजना बनाएर अगाडि बढ्छौं ।'