मृल्यवृद्धिविरुद्ध सडकमा सवारी साधन धकेलेर विरोध (फोटोफिचर)

२० जेठ २०७५

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सडकमा सवारीसाधन धकेलेर विरोध जनाइएको छ ।

नयाँ शक्ति पार्टी, नेपालका आंगिक संगठनहरुले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यप्रति सवारीसाधन धकेलेर सांकेतिक विरोध गरेको हो । आइतबार अपरान्ह माइतीघर मण्डलाबाट मोटरसाइकल डोर्‍याएर नारावाजी गर्दै विरोध जुलुस बिजुली बजार पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा ‘दिनदिनै मूल्य बढ्ने, के हामी बाइक नचढ्ने’ भन्ने प्लेकार्डसहितका बाइक प्रदर्शन गरिएको थियो ।

नयाँ शक्ति पार्टी निकट विद्यार्थी, युवा, सम्पर्क संयन्त्र, आंगिक संगठनहरु सम्मिलित जुलुसपछिको कोणसभालाई सम्बोधन गर्नुहुँदै नयाँ शक्तिकी आंगिक संगठन प्रमुख कल्पना धमलाले यो सरकारसँग कुनै किसिमको नैतिकता नभएकोले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको आरोप लगाउनुभयो । ‘यो मूल्यबृद्धि गर्नु त सरकारको नक्कली राष्ट्रवादको पटाक्षेपको सुरुवात हो,’ उहाँले भन्नुभयो, ‘अरुण तेस्रोको सम्झौतादेखि लिएर अब यो देशमा के-के खतरा आइपर्ने हो, सामना गर्न तयार रहन म नागरिकलाई सचेत रहन आह्वान गर्न चाहन्छु ।’

नेतृ धमलाले भन्नुभयो, ‘जनता स्वयम्ले आफ्नो नागरिक हकलाई बुझ्न नसके सत्तामा बस्ने नक्कली राष्ट्रवादीहरुले लुटिरहनेछन्, चुसिरहनेछन् । मूल्य बृद्धि थोपरिरहनेछन्, ठगिरहनेछन् भन्दै नेतृ धमलाले यस्ता नक्कली नामधारी कम्युनिष्टधारीलाई झुकाउनकोलागि जनबल आवश्यक छ ।’ जनता सचेत भए मात्रै जनताविरुद्धको सरकारी ज्यादती रोक्न सकिने उहाँले बताउनुभयो ।

विरोध र्‍यालीलाई सम्बोधन गर्दै नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक श्यामबाबु गौतमले समाजवादको नारा दिएर सरकारले मूल्यवृद्धि गरेर जनताको ढाड सेकिरहेको आरोप लगाउनुभयो ।