गृहमन्त्रीलाई नयाँ शक्तिको ज्ञापनपत्र, आइती हत्यामा संलग्नलाई कडा कारबाहीको माग (ज्ञापनपत्रसहित)

२७ जेठ २०७५

काठमाडौं  । नयाँ शक्ति पार्टी, नेपाल सम्बद्ध आंगिक संगठनका नेताहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउनुभएको छ । 

आइतबार नयाँ शक्ति पार्टी, नेपाल सम्वद्ध आंगिक संगठनका नेताहरुको मन्त्री थापालाई ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले भ्रष्टाचार र अपराधमा संलग्नलाई आफूले संरक्षण नगर्ने प्रतिवद्धता जनाउनुभयो । ‘अपराधलाई संरक्षण गर्दिनँ, यसअघि सरकारबाटै अपराध र अपराधीलाई संरक्षण हुने अभ्यास सरकारले तोड्छ,’ गृहमन्त्री बादलको भनाई उद्धृत गर्दै नयाँ शक्तिकी नेतृ कल्पना धमलाले बताउनुभयो ।

नयाँ शक्तिसम्बद्ध आंगिक संगठनहरु महिला शक्ति नेपाल, दलित शक्ति नेपाल, समाजवादी ट्रेड युनियन महासंघ र नयाँ शक्ति विद्यार्थी युनियनले मन्त्री थापालाई जनप्रतिनिधि हत्याको विरोधमा ज्ञापनपत्र बुझाएको हो ।

कालिकोटकी जनप्रतिनिधि मना सार्की (आइती)को जघन्य हत्याको विरोधमा गृह मन्त्रालयमा नयाँ शक्ति पार्टी, नेपालले पेश गरेको ज्ञापनपत्रमा घटनामा संलग्न दोषीमाथि तत्काल कारबाहीको माग गरिएको छ ।

मन्त्री थापाले घटनाका दोषीमाथि छानबिन गरी कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिवद्धता जनाएको नयाँ शक्तिकी नेतृ कल्पना धमलाले जानकारी दिनुभयो । कालिकोटको नरहरिनाथ-९ की दलित महिला सदस्य सार्कीलाई सोही ठाउँ बस्ने सृजना शाही र दुर्गा शाहीले निर्मम ढंगले ढुंगाले कुटी हत्या गर्दा पनि राज्य निरिह बनेको भन्दै विरोध जनाइएको छ ।