राष्ट्रिय युवा अभियानको विशेष सम्मेलनसँगै तेस्रो स्थापना दिवस मनाउँदै नयाँ शक्ति

वैकल्पिक तेस्रो ध्रुव निर्माणका लागि सार्वजनिक आह्वान गरिँदै
२८ जेठ २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले तेस्रो स्थापना दिवस मनाउँदैछ । २०७३ जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट घोषणा भएको नयाँ शक्ति पार्टीले जेठ ३० गते बुधबार पार्टी स्थापनाको तेस्रो स्थापना दिवस मनाउन लागेको हो ।

यस वर्षको नयाँ शक्तिको स्थापना दिवसको कार्यक्रमसँगै पार्टी निकट युवा संगठन राष्ट्रिय युवा अभियानको पनि विशेष भेला आयोजना गरिएको छ । बबरमहलको कार्की पार्टी प्यालेसमा आयोजना गरिएको स्थापना दिवसको कार्यक्रम सुरु हुनुअगाडि मध्यान्ह १२ बजे बानेश्वरबाट र्‍याली सुरु हुनेछ ।

पार्टी संयोजक डा.बाबुराम भट्टराईद्वारा विशेष सम्बोधन हुने कार्यक्रमबाट राष्ट्रिय युवा अभियानमा नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको छ । पार्टी स्थापना दिवसबाट तेस्रो वैकल्पिक ध्रुव निर्माणको लागि सार्वजनिक आह्वान गर्ने, पार्टी छाडेर गएकाहरुलाई फर्कन आह्वान गर्ने तयारी भइरहेको छ । 

पार्टी स्थापना दिवस र युवाको विशेष भेला सम्पन्न गर्न विभिन्न व्यवस्थापन समितिले तयारी सम्पन्न गरिसकेको आयोजक समितिका सदस्य भीमप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार युवाको विशेष भेलामा सहभागी हुन देशभरीबाट प्रतिनिधिहरु राजधानी प्रस्थान गरिसक्नुभएको छ । काठमाडौं नजिकका जिल्लाबाट भने प्रतिनिधिहरु बुधबार बिहानै प्रस्थान गर्ने पराजुलीले जानकारी दिनुभयो ।