सरकार जेट विमान होइन, थोत्रो साइकलजस्तो : प्रवक्ता खतिवडा

१ असार २०७५

काठमाडौं । नयाँ शक्ति नेपालका प्रवक्ता डम्बर खतिवडाले वर्तमान सरकार थोत्रो साइकलजस्तो भएको बताउनुभएको छ ।

शुक्रबार राजधानीमा युवा शक्ति नेपालको नयाँ कार्यसमिति र कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले भन्नुभयो, ‘अहिलेको सरकारले आफूलाई जेट विमान ठान्छ तर हामीले हेर्दा थोत्रो साइकल जस्तो लाग्छ ।’ उहाँले अगाडिले थप्नुभयो, 'थोत्रो साइकलको समृद्धि र सुशासनको दुवै पाङ्ग्रा पञ्चट भएजस्तो छ ।’ 

उहाँले वर्तमान सरकारले ल्याएको बजेटले विकास र समृद्धिको कुरा गरे पनि यसको व्यवहारिक रुपान्तरण गर्न नसक्ने बताउनुभयो । प्रवक्ता खतिवडाले सरकारको बजेटप्रति आलोचना गर्दै भन्नुभयो, ‘सरकारको बजेट विकास र समृद्धिलक्षित छैन । सामाजिक न्यायलाई सम्बोधन गर्न सक्ने छैन । परम्परागत शैलीमा छ ।’

प्रशिक्षण विभाग प्रमुख समेत रहेका खतिवडाले काँग्रेस र कम्युनिष्टहरु लोकतन्त्रका लागि लडेपनि विकास, समृद्धि र सुशासनमा चुकेको टिप्पणी गर्नुभयो । उहाँले काँग्रेस र कम्युनिष्टहरुले पछिल्लो ३० वर्षमा देशलाई कंगाल बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो ३० वर्षमा गरिब भनिएका देशहरु धनीको सूचीमा सामेल भए तर काँग्रेस र कम्युनिष्टहरुको शासनकालमा यो देश गरिब र कंगाल भएको छ ।’ 

६४ प्रतिशत चालु खर्च र २४ प्रतिशतको विकास खर्च समावेश गरिएको बजेटले मुलुक समृद्ध नहुने प्रवक्ता खतिवडाको बताउनुभयो । 

उहाँले सरकारले सुशासनको कुरा गरेपनि देशमा भष्ट्राचार बढिरहेको उल्लेख गर्दै अहिलेको सरकारको अवस्था हेर्दा यसको नेतृत्व नयाँ शक्तिले लिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले नयाँ शक्ति नेपालको युवा संगठनले नयाँ शक्तिको रुपमा रचनात्मक भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।