१३ जिल्लामा एकसाथ सुरु भयो नयाँ शक्तिको 'संगठन बिस्तार तथा सम्मेलन अभियान'

१५ असार २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल प्रदेश नं. ३ ले दुई महिने 'संगठन बिस्तार तथा सम्मेलन अभियान' सुरु गरेको छ । शुक्रबार प्रदेशका १३ वटै जिल्लामा एकसाथ उक्त अभियानको सुरुवात गरिएको हो ।

अभियानको सिन्धुली जिल्लामा पनि एक भव्य कार्यक्रमका बीच उद्घाटन भएको छ । अभियान सञ्चालनको लागि जिल्ला संयोजक दीर्घराज श्रेष्ठको संयोजकत्वमा ४ वटा प्रादेशिक निर्वाचन क्षेत्रको संयोजन गर्न क्रमशः १ मा बिष्णु सुनुवार, २ मा टंक गौतम, ३ मा बन्दना सुवेदी र ४ मा हरिबहादुर श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिएको छ ।

सिन्धुलीको २ नगरपालिका, ७ गाउँपालिका र ८० वटा वडामा यस बीचमा कमिटी गठन, पुनर्गठन साथै ७०० जना पार्टी सदस्यको पार्टी सदस्यता नवीकरण र १००० जनालाई नयाँ पार्टी सदस्य वितरण गरिने लक्ष्य लिइएको प्रदेश ईञ्चार्ज गंगा श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, असार १५ गते धान दिवसका दिन धेरैजसो राजनीतिक शक्ति, संघसंगठनहरुले धान दिवस मनाउने भन्दै खेतखेतमा गएर फोटो खिचाउने र प्रचारमुखी काम गर्न व्यस्त रहेका बेला नयाँ शक्ति काठमाडौंले भने रचनात्मक काम गरेको छ । नयाँ शक्ति काठमाडौंले यसपटकको धान दिवस र दहि चिउरा खाने दिनको अवसरमा फरक क्षमता क्षमता भएका व्यक्तिहरु सँगसँगै बसेर दहीचिउरा खाने र सरसफाई अभियान सञ्चालन गरेर मनाएको हो ।

राजधानीको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेका विशिष्ट शारीरिक क्षमता भएका तीनसयभन्दा बढी व्यक्तिहरुसँग दही चिउरा खाँदै धान दिवस र दहीचिउरा खाने दिवस मनाएको छ ।

कार्यक्रमसँगै काठमाडौं जिल्ला समितिले पार्टीको संगठन विस्तार र सम्मेलन अभियान उद्घाटन गरेको छ । कार्यक्रममा उपस्थित नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यालयका सदस्य प्रशान्त सिंहले नयाँ शक्तिले अरुभन्दा फरक तरिकाले काम गर्ने बताउनुभयो । जुनसुकै वर्ग, क्षेत्र र समुदायका साथमा नयाँ शक्ति पार्टी पुग्दैछ भन्ने सन्देश समेत यो कार्यक्रमले दिएको सिंहले बताउनु भयो ।

त्यसैगरी नयाँ शक्ति पार्टी काठमाडौं जिल्ला इन्चार्ज मानुषी भट्टराईले खगेन्द्र नवजीवन केन्द्रमा रहेका विशिष्ट शारीरिक क्षमता भएका व्यक्तिहरु कसैको नजरमा नपरेको अवस्थामा नयाँ शक्तिले उहाँहररुसँगै बसेर दहिचिउरा खाने कार्यक्रम तय गरेको जानकारी दिनुभयो । नयाँ

कार्यक्रममा नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय सदस्य हिसिला यमीलगायत नयाँ शक्ति पार्टीका अभियन्तालगायतको ठूलो संख्यामा उपस्थिति रहेको थियो । सो अवसरमा खगेन्द्र नवजीवन केन्द्र परिसरभित्र रहेको अर्थोपेडिक अस्पताल परिसरमा सरसफाई समेत गर्नुभएको थियो ।

चितवनमा पनि नयाँ शक्ति पार्टी नेपालले संगठन विस्तारलाई तीब्रता दिने उद्देश्यअनुरुप 'संगठन विस्तार तथा अभियान कार्यक्रम'को समुद्घाटन गरेको छ । कार्यक्रमको जिल्ला संयोजक  बिष्णुहरि तिमील्सिनाद्वारा ब्यानर खोलेर उद्घाटन गर्नुभयो ।

यसैबीच नयाँ शक्ति पार्टीले संगठन निर्माण र सम्मेलन अभियानका रुपमा सुरु गरेको कार्यक्रम अन्तर्गत मकवानपुर, ललितपुर, नुवाकोटलगायतका जिल्लाहरुमा समेत यस्तै प्रकारका कार्यक्रमहरु सम्पन्न गरेको छ ।