नयाँ योजनासाथ जनतामाझ जाँदै नयाँ शक्ति, गुल्मी इन्चार्ज राई भन्नुहुन्छ – सपना पूरा हुन्छ

२३ साउन २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले स्थापनाको दुई वर्षलाई समीक्षा गर्दै आफ्नो विचार, लक्ष्य र कार्यक्रम जनताको घरदैलोमा पुर्‍याउँदैछ । जनताको समस्या सुन्न र वैकल्पिक शक्तिको अर्थ बुझाउन पार्टीले केन्द्रीय नेतृत्व खटाउने योजनासमेत बनाउँदै छ । छोटो अवधिमै ७७ वटै जिल्लामा संगठन विस्तार गरेको नयाँ शक्तिले संगठनलाई बलियो बनाउने योजना तथा कार्यक्रम पनि अघि सार्दै छ । सरकारले गर्ने नराम्रो कामको खबरदारी र राष्ट्रिय महत्वको विषयमा पार्टीले आफूलाई उभ्याउँदैसमेत आएको छ ।

पार्टी नेतृत्वले आफ्नो दीर्घकालीन उद्देश्य जनतामाझ लैजाने तयारी गर्दैगर्दा पार्टीका केन्द्रीय कार्यकारी सस्दय एवम् गुल्मी जिल्लाका इन्चार्ज पङ्कज राई जनताले भरपर्दो राजनीतिक विकल्प खोजिरहेको भन्दै वैकल्पिक राजनीतिको अर्थ र दीर्घकालीन लक्ष्यबारे जनतालाई बुझाउन ढिलाइ गर्न नहुने बताउनुहुन्छ ।

‘जनता आँखैअगाडि भ्रष्टाचार भएको टुलुटुलु हेर्न बाध्य छन्,’ नेता राई भन्नुहुन्छ, ‘गरेर खान नपाउने हो कि ? कसैले केही गर्ने हो कि ? भन्ने जनतामा चिन्ता र डर छ । पुराना पार्टीबाट जनता वाक्क दिक्क भइसकेका छन् । जनताले भरपर्दो विकल्प खोजिरहेका छन् । त्यसैले हामीले देखेको बाटो र लक्ष्यबारे बुझाउन जनतामाझ जान हामीले ढिलाइ गर्नु हुँदैन । हाम्रो कार्यक्रम वडा–वडा, टोल–टोलमा लैजानुपर्ने आवश्यक छ । दुई वर्ष हामीले पार्टी निमार्णमा खर्च गर्‍यौं । अब संगठनलाई बलियो बनाउन र पार्टीको एजेण्डाबारे जनतालाई बुझाउन हामीले समय खर्चनुपर्छ ।’ उहाँ संगठन विस्तार र पार्टीको दीर्घकालीन लक्ष्यबारे जनतालाई बुझाउने काम भइरहेको पनि बताउनुहुन्छ ।

‘हामी अहिले संगठन बिस्तारको अभियानमा नै छौं । वडा वडामा संगठन विस्तार गर्ने काम भइरहेको छ । हामीले देशलाई नै समाधान दिने खालको समृद्धि, स्वाधिनता, सदाचार, सुशासन, समुन्नत समाजवाद, सहभागितामूलक लोकतन्त्रका एजेन्डा जनतालाई बुझाउने प्रयत्न गरिहेका छौं,’ नेता राई भन्नुहुन्छ ।

नयाँ शक्तिको विकल्प नरहेको भन्दै युवा नेता राई भन्नुहुन्छ, ‘पुराना पार्टीहरुले नेपालको इतिहासमा एक चरण पूरा गरे । संघीयता, धर्मनिरपेक्षता, संविधानसभाबाट निर्वाचनजस्ता महत्वपूर्ण एजेन्डा स्थापित गरे । जसमा हाम्रो पनि नि:स्वार्थ सहयोग थियो । पुराना पार्टीहरुले अहिले पञ्चायत र राजाको परम्परालाई अंगाल्दै छन् । समावेशिताको नाममा आफ्ना आसेपासेलाई पोस्दै छन् । देशमा भ्रष्टाचार, अनियमिता व्याप्त छ । सुशासन, सचादार शब्दको दुरुपयोग मात्र भइरहेको छ । त्यसकारण नेपालको विकास, समृद्धि र अबको कार्यभार पूरा गर्न नयाँ शक्तिको विकल्प छैन ।’

नयाँ उर्जाका साथ अघि बढ्दै नयाँ शक्ति

स्थापनाको केही समयमा नै पार्टीले स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सामना गर्नुपर्दा भरपर्दो विकल्पका रुपमा जनविश्वास प्राप्त नभइसकेकोले पार्टीले चुनावमा सोचेअनुरुप नतिजा हासिल गर्न सकेन । निर्वाचनमा पराजयको कारण पार्टी स्थापनामा भूमिका खेलेका केही नेताहरुले पार्टी परित्याग गरे । जसको असर गुल्मीका कार्यकर्ता तथा पार्टी शुभचिन्तकमा पनि परेको नेता राई बताउनुहुन्छ । केही समय जिल्ला समन्वय समितिको कार्यालय समेत बन्द भएको र अहिले पुन: नयाँ ढङ्गले सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

गुल्मीका इन्चार्ज समेत रहनुभएका नेता राई भन्नुहुन्छ, ‘पार्टीले स्थापना भएको केही वर्षमा नै धेरै दु:ख कष्ट बेहोर्नुपर्‍यो । संगठन विस्तार नहुँदै तीन वटा निर्वाचनमा भाग लिनुपर्ने अवस्था आयो । निर्वाचनको परिणाम र छिट्टै केही पाउने आश देखेर आउनुभएका साथीहरुले पार्टी छोड्दा कार्यकर्ता र शुभचिन्तकमा निराशा छाएको थियो । तर, अहिले पार्टी छोड्ने नेताहरुको नियतबारे देशैभरका कार्यकर्ता र शुभचिन्तकले बुझिसकेका छन् । एकसमय बन्द भएको गुल्मी जिल्ला समन्वय समितिको कार्यालय युवाहरुको सहभागितामा नै म इन्चार्ज भएर गएपछि नयाँ ढङ्गले सुचारु भएको छ । हामी नयाँ उर्जाका साथ अगाडि बढिरहेका छौं ।’

नयाँ शक्तिको सपना पूरा हुन्छ

‘देशैभरि भ्रष्टाचार व्याप्त छ । दुई तिहाइको सरकार भए पनि समस्या ज्यूँकात्यूँ छ । बाटो विस्तार गर्दा पनि अत्याधिक भ्रष्टाचार छ । सरकार निकटकै व्यक्तिहरु ठेकेदार रहेकाले उनीहरुलाई कारबाही हुने कुरै छैन । सरकारले कुनै काम गर्न सकेको छैन, आफै नियम कानुन बनाउँछ, कार्यान्वयन गर्देन । यातायात क्षेत्रको सिन्डिकेट तोड्ने हल्ला भए पनि फेरि त्यत्तिकै सेलाइसक्यो, कार्यान्वयन भएको छैन ।

चुनावी घोषणापत्रअनुसार कुनै पनि काम भएका छैनन् । जनतालाई ढाँट्ने काम भइरहेको छ । जनतामाथि छरिएका भ्रम चिर्नसक्ने शक्ति हामीसँग छ । हामी त्यसको प्रक्रियामा गइसकेका छौं । वैकल्पिक शक्तिको अर्थ र लक्ष्य बुझाएर आगामी निर्वाचनमा जित्छौं । त्यसैले मलाई विश्वास छ, नयाँ शक्तिले देखेको सपना पूरा हुन्छ’, नेता राईको विश्वास छ ।

गुल्मीका लागि एकीकृत बस्ती र कृषि योजना आवश्यक

गुल्मी जिल्ला इन्चार्ज राई गुल्मीको विकासको लागि एकीकृत बस्ती र कृषिको योजना आवश्यक रहेको बताउनुहुन्छ ।

‘गुल्मीमा एकीकृत बस्ती र कृषिको योजना ल्याउने हो भने छिट्टै विकास गर्न सकिने ठाउँ छ,’ राई भन्नुहुन्छ, ‘यहाँका किसानका बारीमा अदुवा, लसुनलगायतका मसलाजन्य नगदेबाली उत्पादन भइरहेको छ । तर, विकेन्द्रित भइरहेको छ । बजार लिन सकिरहेको छैन । न यहाँ कृषि क्रान्ति भइरहेको छ, न त उत्पादन भएका वस्तुहरु हामीले उपभोग गर्न पाइरहेका छौं । घरहरु पनि टाढा–टाढा रहेका छन् । त्यसकारण गुल्मीको विकासको लागि एकीकृत बस्ती र कृषि योजना आवश्यक रहेको छ,’ उहाँ भन्नुहुन्छ ।

‘गुल्मीका जनता सही र गलत छुट्याउन सक्ने छन् । सबैमा चेतना छ, सबै स्वतन्त्र छन् । एउटै परिवारका सदस्यहरु पनि फरक–फरक पार्टीमा आवद्ध भएको मैले भेटेको छु,’ उहाँले भन्नुभयो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा पार्टीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो । जिल्लामा दुई नगरपालिका र दश गाउँपालिका रहेका छन् ।