नयाँ शक्तिले काठमाडौं महानगर लगायत काठमाडौंका सबै नगरपालिकासँग सूचना माग गर्ने

२४ साउन २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले सूचनाको हकसम्बन्धी ऐनको प्रावधानअनुसार विभिन्न सूचना माग गर्दै काठमाडौं महानगरपालिकाका प्रमुखलाई भोलि शुक्रबार पत्र बुझाउँदैछ । विहान ११ बजे महानगरपालिकाको कार्यालय गई नयाँ शक्ति पार्टीको काठमाडौं जिल्ला समन्वय समिति र काठमाडौं महानगर समितिको तर्फबाट सूचना माग गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र बुझाइनेछ ।

महानगरपालिका अन्तर्गतका सम्पूर्ण विभाग, वडा, महाशाखा, आयोजना, इकाई, कार्यक्रमहरुको आर्थिक वर्ष २०७४/०७५ को महानगर परिषदबाट पारित बजेट शीर्षक अन्तर्गतका प्रत्येक योजना तथा कार्यक्रमको आर्थिक तथा भौतिक प्रगति, आय र व्ययको पूर्ण विवरण, सम्पूर्ण मालसामान जिन्सी सामग्री, निर्माण कार्य, परामर्श सेवा तथा अन्य खरिद तथा भुक्तानीको विवरण माग गरिने नयाँ शक्ति पार्टी काठमाडौं जिल्ला समन्वय समितिकी संयोजक मानुषी यमी भट्टराईले जानकारी दिनुभयो ।

त्यसैगरी भोलि नै काठमाडौं जिल्लाका अन्य सबै नगरपालिकाका प्रमुखहरुलाई पनि सूचना माग गर्दै पत्र बुझाइनेछ ।