विद्यार्थी सङ्गठनलाई लाठीको रुपमा प्रयोग गर्दैनौं: उपाध्यक्ष महतो

२७ साउन २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपाल अहिले स्थापनाको दुई वर्षलाई समीक्षा गर्दै अगाडि बढिरहेको छ । पार्टीले यसै वर्षलाई महाधिवेशन तथा सङ्गठन सुदृढीकरण वर्षको रुपमा लिएको छ ।

पार्टी आफ्नो विचार, योजना, सिद्धान्त र दीर्घकालीन लक्ष्यलाई बुझाउन अघि सर्दै आगामी भदौ १ गतेबाट कार्यकर्तालाई अभिमुखीकरण तालिमको तयारीमा जुटेको छ ।

पार्टीले देशैभरि आफ्नो विचार, सिद्धान्त र दीर्घकालीन भावी योजना लैजाने तयारी गदैगर्दा पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष दीपक महतो युवा र विद्यार्थीबिना आफ्नो कार्यक्रम प्रभावकारी नहुने बताउनुहन्छ । युवा नेता महतो विद्यार्थी र युवालाई सचेत गराएमा मात्र आफूहरुको कार्यक्रम फलदायी हुने विश्वास गुर्नहुुन्छ ।

राजनीतिमा विद्यार्थीको सहभागिता दुरुपयोग होइन

नयाँ विचार, सिद्धान्त, सोचसहित अघि बढेको नयाँ शक्ति पार्टी निकट विद्यार्थी युनियनले विद्यार्थीलाई राजनीतिमा आउन स्थापनाकालदेखि नै प्रेरित गरेको छ । उपाध्यक्ष महतो विद्यार्थीले प्रत्येक प्रजातान्त्रिक मुलुकमा विद्यार्थीले ‘वाच डग’को भूमिका खेल्ने गरेको बताउनुहुन्छ ।

‘विद्यार्थी शक्तिले कुनै पनि देशको संसदीय भूमिकाभन्दा पनि बढी भूमिका खेलेको हुन्छ’, उपाध्यक्ष महतो भन्नुहुन्छ, ‘नेपालको सन्दर्भमा २००७ सालदेखि हालसम्मको राजनीतिक परिवर्तनमा विद्यार्थीको योगदान अविस्मरणीय रहेको छ । पञ्चायतविरुद्धको आन्दोलन होस् या राणा शासनविरुद्धको । अहिलेसम्मको व्यस्वथा परिवर्तनमा विद्यार्थीको मुख्य भूमिका छ ।’

‘जनताको जनजीविकासँग जोडिएका जति पनि सामाजिक विषयवस्तु छन् त्यसलाई हल गर्न समाजको सचेत नागरिकको हैसियतले पनि विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । राज्यले गर्ने हरेक नराम्रो कामको खबरदारी गर्न विद्यार्थीले ‘वाच डग’को भूमिका खेलेको हुन्छ । त्यसैले प्रत्येक प्रजातान्त्रिक मुलुकमा विद्याथी राजनीतिको महत्वपूर्ण भुमिका रहेको हुनाले विद्यार्थी सङ्गठनको महत्व र आवश्यकता छ’, उहाँ भन्नुहुन्छ ।

अरु र नयाँ शक्ति विद्याथी युनियनमा फरक के ?

नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष महतो भन्नुहुन्छ, ‘पुराना राजनीतिक पार्टीले विद्यार्थी र विद्यार्थी सङ्गठनलाई दुरुपयोग गरे ।’

‘सरकारको काम हेर्दा अहिले जुन हिसाबले विद्यार्थी आन्दोलन उठ्नु पर्दथ्यो त्यस्तो कतै पनि देखिएको छैन । आफूलाई ठूला–ठूला विद्यार्थी सङ्गठन भन्नेहरुले विकृती मच्चाइरहेका छन्’, उहाँ भन्नुहुन्छ, ‘अनेरास्ववियुले सरकारका गलत काम कारबाहीलाई पनि ढाकछोप गर्ने काम गरिरहेको छ । फलस्वरुप: उसले शक्ति र सत्ताको दुरुपयोग गरिरहेको छ । नेपाल विद्यार्थी संघले पनि केही काम गर्न सकिराखेको छैन । ती संगठनहरुले विद्यार्थीको शैक्षिक मुद्दा, विश्वविद्यालय र शैक्षिक प्रणालीमा परिवर्तनका सवालहरुमा काम गर्न सकेका छैनन् । विद्यार्थी सङ्गठनहरु केही मुट्ठीभर व्यक्तिहरुको कमाइ खाने भाँडो भएका छन् ।’

विद्यार्थी सङ्गठनहरु पार्टीको लाठीको रुपमा प्रयोग भइरहेको भन्दै उपाध्यक्ष महतो भन्नुहुन्छ, ‘हाम्रो विद्यार्थी सङ्गठन नयाँ शक्तिको विचारसँग सहमत भएको मात्र हो । कतिपय कुरामा भने पार्टीको भन्दा हाम्रो सङ्गठनमा फरक मत छ । हामी विद्यार्थी सङ्गठनलाई पार्टीको लाठीको रुपमा प्रयोग गर्दैनौं । शिक्षा क्षेत्रमा देखिएको जति पनि विभेदहरुलाई हटाउन हामीले नयाँ मुभमेन्टको परिकल्पना गरिरहेका छौं । त्यसैले अन्य पार्टीआवद्ध विद्यार्थी सङ्गठनभन्दा हाम्रो संगठन फरक छ ।’

मधेसी दलकै कारण मधेस माथि उठ्न सकेन

युवा नेता महतो मधेसवादी दलकै कारण मधेस माथि उठ्न नसकेको बताउनुहुन्छ । उहाँ मधेसवादी दलहरु मधेस र मधेसी जनताको समस्यालाई भुलेर सत्ता र शक्तिको दौडमा लागेको बताउनुहुन्छ ।

‘मधेसबाट जन्मिएका पार्टीहरुले नै मधेसी जनताको प्रतिनिधित्व गर्न सकेका छैनन् । मधेस समस्याको पहिचान र समाधान गर्न सकेका छैनन्, मधेसको आवाजलाई सुन्न सकेका छैनन् । मधेसी जनता विभेदमा बाँचिरहेका छन् । तर आफूलाई ‘मधेसवादी दल’ भन्ने पार्टीहरुकै कारण मधेसका जनताको जीवनस्तर माथि उठ्न सकेको छैन, मधेस माथि उठ्न सकेको छैन’, उहाँ भन्नुहुन्छ, ‘मधेसवादी दल मधेसको मुद्दा बेचेर कोही सरकारमा सहभागी छन्, कोही सरकारमा जान पर्खिरहेका छन् । मधेस र मधेसी जनताको आवाज नसुन्ने दल मधेसी जनताको हुन सक्दैन ।’

नयाँ शक्तिले मात्र हिमाल, पहाड र तराईको दूरीलाई जोड्नसक्छ

गत प्रतिनिधिसभाको निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा सहभागी हुनुभएका महतो मधेसको मुख्य समस्या नागरिकता रहेको बताउनुहुन्छ । नागरिकता बनाइदिने नाममा मधेसी दलले जनतालाई झुक्याइरहेको उहाँको गुनासो छ ।

‘मधेसको नाममा कांग्रेस, एमाले, माओवादीले फरक–फरक रुप धारण गरेर मधेसलाई झुक्याए,’ उहाँ भन्नुहुन्छ, ‘कहिले संविधान संशोधन गर्छु भनेर झुक्याए, कहिले लाजपूर्जा दिलाइदिनुहुन्छु भनेर झुक्याए । मधेसी जनताको मसिहा हुँ भन्ने राजपा र फोरमले पनि मधेसलाई झुक्याए । पुराना पार्टीहरुको व्यवहारले तराई र पहाडबीचको दूरी बढाउने काम भइरहेको छ । हक अधिकारको विषयमा नै विभेद भइरहेको छ ।’

तराईमा बसोबास गर्ने अधिकांश नेपालीको नागरिकता नभएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘पुराना दलबाट आफ्नो अधिकार पाउने आशा मरेपछि तराईका जनताले विकल्प खोजिरहेका छन् । नयाँ शक्तिले मात्र हिमाल, पहाड र तराईको दूरी कम गरी राष्ट्रिय एकता कायम गर्न सक्छ ।’

नयाँ शक्तिले सबैको प्रतिनिधित्व गर्न सक्ने उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, ‘नयाँ शक्तिले जुन पाँच ‘स’ अन्तर्गत समानुपातिक/समावेशी/सहभागीतामूलक लोकतन्त्रको अवधारणा अगाडि सारेको छ । यसले पक्कै पनि हिमाल, पहाड र तराईबीचको सम्बन्धलाई जोड्ने काम गर्दछ । त्यसैले पुराना पार्टीहरुले बढाएको हिमाल, पहाड र तराईबीचको दूरीलाई जोड्न सक्ने शक्ति नयाँ शक्तिमा मात्र छ । हामी हाम्रो विचार, दीर्घकालीन लक्ष्य र एजेन्डाहरु जनतालाई बुझाउँदैछौं ।’