विदेशमा बस्ने नेपालीको भोट चल्नैपर्छ: नेता घले

३० साउन २०७५

काठमाडौं । देशभित्र रोजगारीको अवसर नपाएर रोजगारीका लागि र अध्ययनका लागि पचास लाखभन्दा बढी नेपाली विश्वका विभिन्न मुलुकमा छन् । तर, ती नेपालीले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न पाएका छैनन् । नेपालको प्रत्येक निर्वाचनमा अमूल्य मत खेर जाँदै आएको छ ।

हालसम्म विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि नेपालका स्थापित पार्टीहरुले कुनै पहल गरेका छैनन् । तर, स्थापनाकालदेखि नै नयाँ शक्ति पार्टी, नेपालले विदेशमा बस्ने नेपालीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने बताउँदै आएको छ ।

आफ्नो दीर्घकालीन लक्ष्य, उद्देश्य, नीति, कार्यक्रमका बारेमा बुझाउन जनतामाझ जाने तयारीमा रहेको नयाँ शक्ति पार्टीको प्रवास प्रदेश सम्पर्क संयन्त्रका संयोजक रामबहादुर घले विदेशमा बस्ने नेपालीले पनि मताधिकार प्रयोग गर्न पाउनुपर्ने आवाज अब जनस्तरबाटै उठाउनुपर्ने बेला भएको बताउनुहुन्छ ।

‘नेपालमा हाल सतहमा रहेका राजनीतिक दलका अधिकांश नेताहरुले पैसाको शक्तिमा चुनाव जित्दै आएका छन्’, नेता घले भन्नुहुन्छ, ‘नेपालको हालसम्मको निर्वाचनमा विदेशमा बस्ने नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न पाइरहेका छैनन् । उनीहरुको अमूल्य मत खेर गइरहेको छ । नेपाली नागरिक भएर पनि आफ्नो प्रतिनिधि चुन्ने अधिकार प्रयोग गर्न पाएका छैनन् ।’

नेता घले नेपालमा विद्यमान अनियमितता, भ्रष्टाचार, कानुनी राज्यको स्थापनाका लागि स्वच्छ छवी भएका जनप्रतिनिधिहरु चुनिनु आवश्यक भएको र त्यसका लागि विदेशमा बस्ने नेपालीको मत अत्यावश्यक रहेको बताउनुहुन्छ । विदेशिएका अधिकतम शिक्षित युवा वर्गले विकसित लोकतान्त्रिक मुलुकको विधि, विधान, विकास निर्माण र सरकारी नीति राम्रोसँग बुझेको हुनाले उनीहरुको मतदानको निर्णयले खास फरक पर्ने उहाँ बताउनुहुन्छ ।

‘विदेशमा बस्ने बहुसंख्यक नागरिकहरु देशको स्थिति सुधार गर्न र विकास गर्न स्वदेश फर्कन चाहन्छन् । विदेशमा आर्जन गरेको सीप, पुँजी स्वदेशमा नै लगानी गर्न हतारोमा छन् । उनीहरु आफ्नो मतद्वारा देश विकसित भएको हेर्न चाहन्छन् । त्यसैले देशको समृद्धिका लागि पनि विदेशमा बस्ने नेपालीको मत आवश्यक छ’, उहाँ भन्नुहुन्छ ।

नोट चल्ने, भोट किन नचल्ने ?

नेपालको अर्थतन्त्र विदेशमा बस्ने नेपालीको रेमिट्यान्सबाट चलिरहेको भन्दै नोट जसरी नै भोट पनि चल्नुपर्ने उहाँ बताउनुहुन्छ । विदेशमा बस्ने नेपालीले मताधिकार प्रयोग गर्न त्यहाँको दूतावासले व्यवस्था मिलाउने गरी नियम बनाइ कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

‘नेपालको अर्थतन्त्रमा विदेशमा बस्ने नेपालीले पठाएको रेमिट्यान्सको ठूलो योगदान छ । हामीले देशको समृद्धिका लागि प्रवासी नेपालीहरुको ज्ञान, सीप, लगानी पनि भित्रयाउनुपर्छ । विदेशमा बस्ने नेपालीहरुको नोट जसरी नै भोट पनि चल्न पाउनुपर्छ । नेपालको लोकतन्त्रलाई पूर्णता दिन पनि उनीहरु जहाँ छन् त्यहीँबाट मताधिकारको प्रयोग गर्न सक्ने सुनिश्चितता हुनैपर्छ ।’

प्रवासी नेपालीको अधिकारका लागि नयाँ शक्तिको अभियान

स्वदेशमै रोजगारी सिर्जना गरेर प्रत्येक नेपालीलाई राष्ट्र निर्माणमा लगाउनु नयाँ शक्ति पार्टीको दीर्घकालीन भएको र तत्कालका लागि विदेशमा बस्ने नेपालीको मताधिकारको सुनिश्चितताका लागि संसद् र सडकबाट आवाज उठाउने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । उहाँले नयाँ शक्ति प्रवास शाखाले नेपालमा लगानी गरी युवाहरुलाई रोजगारको अवसर प्रदान गर्ने योजनाको तयारीमा रहेको पनि बताउनुभयो ।

‘हामीले पार्टी स्थापनाकालदेखि नै विदेशमा बस्ने नेपालीहरुलाई स्वदेशमै रोजगारीको वातावरण बनाउनुपर्छ भन्दै आएका छौं । प्रत्येक नेपालीले राष्ट्र निर्माणमा भूमिका खेल्न पाउनुपर्छ । लाखौं युवाहरु रोजगारीको सिलसिलामा विदेश पलायन हुन बाध्य छन् । विदेशिएका युवाहरुलाई नेपालमै ल्याउने नयाँ शक्तिको मुख्य एजेन्डा हो । त्यसको साथैसाथै राष्ट्र्र निर्माणका लागि उनीहरुको मत पनि स्वीकार गर्नुपर्छ भन्ने हाम्रो माग हो । हामीले विदेशमा बस्ने नेपालीहरुको मताधिकारका लागि सरकारसँग पहल गर्नुको साथै संसद् र सडकबाट बहस समेत चलाउँछौं’, उहाँले भन्नुभयो ।

उहाँले विदेशमा विभिन्न मुद्दा लागेका नेपाली कामदारलाई नेपाल फर्काउने विषयमा आफूहरुले सरकारसमक्ष विशेष पहल गर्ने जानकारी समेत दिनुभयो । वैदेशिक रोजगारीको लागि विदेश जान खोज्ने नागरिकहरुको लागि कुनै समस्या नपरोस् भनेर जानुअगाडि नै वैदेशिक रोजगारीसम्बन्धी तालिम प्रदान गरी सक्षम बनाउन वैदेशिक रोजगार विभागसँग आफूहरुले पहल समेत गर्ने नेता घलेले बताउनुभयो ।


०००