नयाँ शक्तिकी नेतृ हिसिलाको प्रश्न – बलात्कार र हत्याहिंसाको घटनामा सरकार किन मौन ?

३१ साउन २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालकी हेडक्वार्टर सदस्य एवं पूर्वमन्त्री हिसिला यमीले वर्तमान सरकार बलात्कार र हत्याहिंसाको घटनामा मौन रहेको पनि आरोप लगाउनुभएको छ । ‘अहिले आफूलाई कम्युनिष्ट भन्न रुचाउने पार्टीको नेतृत्वको सरकारसँग दुई तिहाई बहुमत छ । तर, बलात्कार, हत्याहिंसाको घटनाबारे मौन छ । बलात्कार र हत्याहिंसाको घटनामा सरकार किन मौन ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘बलात्कार र हत्या, हिंसाको घटना अन्त्यको लागि अब जनस्तरबाटै आवाज उठ्न जरुरी छ ।’

सामाजिक, आर्थिक, मनोवैज्ञानिक, वैचारिक, साँस्कृतिक कारणले समाजमा दिनप्रतिदिन बलात्कारको घटना बढिरहेको पनि नेतृ यमीले बताउनुभयो । महिला हिंसाको घटना आर्थिक, रोजगारी र अशिक्षाको कारण घटेको भन्दै वर्तमान सरकारको ध्यान जनताको जीवनस्तर उकास्नेतर्फ जानुपर्नेमा उहाँको जोड छ ।

बिहीबार काठमाडौंमा महिला शक्ति महासंघ नेपाल, अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी, अखिल नेपाल प्रगतिशील महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ यमीले भन्नुभयो, ‘महिलाहरुको भविष्यमाथि खेलवाड गरिएको छ । महिलालाई लजालु बनाएर लुकाउने र निजी साधनको रुपमा घर गृहस्थिमा सीमित राख्ने गरिएको छ । अझै पनि नेपालमा छाउपडी प्रथा कायमै छ । सामाजिक आर्थिक रुपान्तरण नभएसम्म महिला हिंसाको घटना अन्त्य हुँदैन ।’

‘तत्काल सरकारले हत्या, हिंसा र बलात्कारमा संग्लन व्यक्तिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘जघन्य अपराध रोक्नको लागि ऐन, नियम, विनियम बनाउनुपर्छ । सर्वाेच्च अदालतमा गतवर्ष मात्र बलात्काका ३१७ मुद्दामध्ये ३९ मात्र फैसला भएको छ । त्यसैले सरकारले बेलैमा अपराध सम्बन्धी कानुन बनाएर बेलैमा दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ ।’

कार्यक्रममा नयाँ शक्तिकी नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले सरकार र महिला नेतृत्वले महिला हिंसाको घटनामा केही गर्न नसक्नु दु:खद रहेको बताउनुभयो । ‘महिला हिंसाको घटना दिनदिनै बढ्दैछ । महिलाको प्रतिनिधित्व गरेर जानुभएका हाम्रो नेतृहरु पनि मौन हुनुहुन्छ । दु:ख लाग्छ राष्ट्रपति आफै महिला हुनुहुन्छ तर बलात्कारको घटनामा मौन हुनुहुन्छ । अब कस्तो महिला नेतृ छान्ने भन्ने पनि प्रश्न रहन्छ । महिलामाथि हुने सबै खाले हिंसाको लागि सर्वप्रथम महिला नै सचेत हुनुपर्छ’, उहाँले भन्नुभयो ।’

कार्यक्रममा युवा शक्ति नेपालकी नेतृ ज्ञानु आचार्यले महिलाले आफ्नो जिन्दगीबाट हार खाएमा सिंगो समाज फेल खाने भन्दै महिलाहरु जागरुक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद रेखा शर्माले महिला हिंसा अन्त्यको लागि विद्यालयस्तरदेखि नै सबैलाई सचेत गराउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा महिला अगुवा माया नेगीले बलात्कारका घटनामा सरकार चलाउने पार्टीका व्यक्तिहरुनै संलग्न रहेको भन्दै छानविनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । ‘कञ्चनपुर र कैलालीमा बलात्कारको घटना बढ्दो मात्रामा छ । निर्मला पन्तको हत्यामा सरकार चलाउने पार्टीकै मानिसहरु संग्लन छन् । बेलैमा छानविन होस् । साँचो जहाँ हराएको छ, त्यहाँ नै खोजियोस् । साँचो नभएको ठाउँमा बत्ति बालेर साँचो नखोजियोस्’, उहाँले भन्नुभयो ।