काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्ने नयाँ शक्तिको संकल्प

२ भदौ २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका सदस्यहरुले काठमाडौं उपत्यकाका प्रत्येक टोलबाट निस्कने फोहर व्यवस्थापन गर्ने संकल्प गरेका छन् । शनिबार राजधानीमा ‘काठमाडौंको फोहर व्यवस्थापन: चुनौति, समाधान र हाम्रो संकल्प’ विषयक प्रशिक्षण कार्यक्रममार्फत पार्टीका सदस्यहरुले उपत्यकाबाट निस्कने फोहरको व्यवस्थापन गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

नयाँ शक्तिको काठमाडौं जिल्ला समन्वय समिति संयोजक मानुषी यमी भट्टराईले काठमाडौं उपत्यकाबाट निस्कने फोहर व्यवस्थापनका लागि सरकारको मुख नताक्ने बताउनुभयो । ‘हामी सधैं सरकारको मुख ताकेर बस्ने मान्छे होइनौं’, यमीले भन्नुभयो, ‘हामी आफ्नो समस्या आफै समाधान गर्ने विवेकशील मान्छे हौं । त्यसैले हामी सबैले आजको दिनदेखि आफ्नो घरलगायत टोलबाट निस्कने फोहरको व्यवस्थापनमा लाग्छौं भनेर छातीमा हात राखेर कसम खान्छौं ।’ उहाँले आफूहरुले सरकारको नराम्रो कामको विरोध सधैं जारी राख्ने पनि बताउनुभयो ।

‘हामीले केही दिनअघि काठमाडौंका मेयरलाई उपत्यकाबासीलाई सूचना प्रदान गर्न पत्र बुझाएका थियौं’, उहाँले भन्नुभयो, ‘महानगरले १ अर्वको बजेट छुट्याए पनि कुनै पनि ठोस काम गरेको देखिएको छैन । त्यसैले हामी निरन्तर हाम्रो सरकारले गर्ने राम्रो कामको समर्थन र नराम्रो कामको खबरदारी गर्छौं ।’

कार्यक्रममा खालीसिसी बोतलकी संस्थापक आयुषी केसीले काठमाडौंको फोहर व्यवस्थापनको लागि कलेक्सन, म्यानेजमेन्ट र डिस्पोजको आवश्यकता रहेको बताउनुभयो । ‘फोहर उठाउन सजिलो छ तर व्यवस्थापन गर्न गाह्रो छ’, उहाँले भन्नुभयो, ‘फोहर व्यवस्थापनको लागि कलेक्सन, म्यानेजमेन्ट र डिस्पोजको आवश्यकता रहेको छ ।’

प्रशिक्षण कार्यक्रममा प्रा.डा. आनन्दशोभा ताम्राकारले काठमाडौं उपत्यकाको फोहरलाई सुनको अन्डाको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । ‘म फोहर शब्द प्रयोग गर्न चाहन्नँ । उपत्यकाबाट निस्कने फोहरलाई हामीले राम्रोसँग सदुपयोग गर्न सक्यौं भने सुनको अन्डा जस्तो हुन्छ । फोहरबाट हामीले विभिन्न फाइदा लिनसक्छौं । फोहारबाट बायो ग्यास निकाल्न सकिन्छ । फोहरलाई मलको रुपमा परिणत गरी त्यसबाट लाभ लिन सकिन्छ । त्यसैले फोहरलाई सही सदुपयोग गरेर फाइदा उठाऔं’, उहाँले भन्नुभयो । कार्यक्रममा लोकसेवा आयोगकी पूर्वअध्यक्ष डा. कोयोदेवी यमीले काठमाडौं उपत्यकाबाट दैनिक पाँच लाख किलो फोहर निस्कने भन्दै फोहरलाई उचित व्यवस्थापन नगरे सम्पूर्ण मानव जीवनमा असर पार्ने बताउनुभयो ।

०००