काठमाडौंको चपलीमा नयाँ शक्ति पार्टीको वृक्षारोपण

९ भदौ २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको चपलीमा वृक्षारोपण गरेको छ । आज पार्टीको बुढानीलकण्ठ नगर समितिले चपलीमा रुद्राक्ष, टाकीलगायत १३० वटा विरुवा रोपेको नयाँ शक्तिको काठमाडौं जिल्ला समन्वय समिति संयोजक मानुषी यमी भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी पार्टी सदस्य एवं स्थानीयले दीगो विकासकालागि आगामी दिनहरुमा पनि वृक्षारोपणलगायत विभिन्न अभियान चलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संयोजक मानुषीले आर्थिक विकाससँगसँगै पर्यावरण संरक्षण र दीगो विकासकालागि वृक्षारोपण आवश्यक रहेको बताउनुभयो । ‘हामी नयाँ शक्ति अभियन्ताहरुले नयाँ राजनीतिक संस्कार अंगालेका छौं’, संयोजक मानुषीले भन्नुभयो, ‘प्राकृतिक साधन–स्रोतको दोहन गर्ने हाम्रो अर्थतन्त्र छ । यस्तो अर्थतन्त्रले मान्छे र प्रकृतीबीच द्वन्द निम्त्याउँछ । त्यसकारण हामीे विकल्पमा समुन्नत समाजवाद समृद्धिको लक्ष्यलाई टेकेर आर्थिक विकास सँगसँगै पर्यावरण संरक्षण र दीगो विकासकालागि यस्ता अभियानहरु चलाइराख्नेछौं ।’ उहाँले प्रकृति र मानिसबीचको सन्तुलन मिलाउन सम्बन्धित निकायहरुलाई घचघच्याइरहने र आफूहरु पनि अभियन्ताको रुपमा समाजिक कार्यहरुमा निरन्तर सहभागी भइरहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो ।

कार्यक्रममा पूर्व वातावरणमन्त्री एवं पार्टीको केन्द्रीय विज्ञ परिषद्का संयोजक डा. केशवमान शाक्यले आफ्नो अनुभव र विज्ञतासहित भौतिक संरचना निर्माण गर्नु मात्र समृद्धि नभएको बताउनुभयो । ‘समृद्धि भनेको ठूलो–ठूलो भौतिक संचरना निर्माण गर्नु मात्रै होइन’, डा. शाक्यले भन्नुभयो, ‘मान्छे र वातावरणबीचको सन्तुलन बुझ्ने र विकास गर्ने पनि समृद्धि हो । वृक्षारोपण सानो कार्य देखिए पनि यसको दीर्घकालीन महत्व हुन्छ । यसलाई निरन्तर अभियानको रुपमा चलाउनुपर्छ ।’

त्यस्तैगरी बुढानीलकण्ठ नगर समितिका स्थानीय बसन्त बस्नेतले वृक्षारोपणसँगसँगै संरक्षणका लागि नियमित अनुगमन आवश्यक रहेको बताउनुभयो ।

आगामी दिनहरुमा अन्य नगरहरुले पनि विभिन्न ठाउँहरुमा वृक्षारोपण, फोहोर व्यवस्थापन तथा स्वास्थ्य शिविरको कार्यक्रम गर्ने पार्टीले जनाएको छ ।