'हेरचाहको जिम्मा पाएकोबाटै परिवर्तनको एजेन्डाहरु खतरामा'

११ भदौ २०७५

दाङ (तुल्सीपुर), ११ भदौ । नयाँ शक्ति पार्टी, नेपालका प्रदेश पाँचका ईञ्चार्ज नवराज सुवेदीले दुई तिहाई बहुमतको सरकार सोचेभन्दा छिटै असफल हुन लागेको बताउनुभएको छ । 


रिपोर्टस् क्लब दाङले सोमबार दाङमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता सुवेदीले उक्त कुरा बताउनुभएको हो । उहाँले सरकार मुलुकका समस्या समाधान गर्न असमर्थ सावित हुँदै गइरहेको भन्दै जनताले विकल्प खोज्न थालेको बताउनुभयो ।


'सबैतिर विचौलियाहरु हावी छन्, हामीले किसानले उत्पादन गरेको तरकारीमा विचौलियाले कसरी लुटिरहेका छन् भन्ने सुनिरहेका छौं,' उहाँले भन्नुभयो, 'प्रधानमन्त्री उखान टुक्कामा व्यस्त छन्, देश विचौलियाले चलाइरहेको छ ।'

भूगोग एकीकरण, लोकतन्त्रको स्थापनापछि मुलुक अब नयाँ चरणमा प्रवेश गरेको भन्दै नेता सुवेदीले उक्त चरणको नेतृत्व गर्न नयाँ शक्ति र उसले अगाडि सारेको ५ 'स' निर्विकल्प रहेको बताउनुभयो ।

साक्षात्कारमा नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता प्रशान्त सिंहले नेपालका हरेक राजनीतिक परिवर्तनपछि त्यसको स्वामित्व लिने नेतृत्व नभेटिएको बताउनुभयो । 'सानो बच्चा बाबु-आमाबाट नै असुरक्षित भयो भने उसको रक्षा कसले गर्छ ?' प्रवक्ता सिंहले प्रश्न गर्दै भन्नुभयो, 'पछिल्ला परिवर्तनका एजेन्डाहरु पनि हेरचाह र कार्यान्वयनको जिम्मेवारी पाएको शक्तिबाटै असुरक्षित भइरहेको छ ।'

उहाँले संघीयता कार्यान्वयनका लागि सरकारी हेलचेक्र्याईं र लाचारीतर्फ संकेत गर्दै भने, 'हिजो राजा, भारत वा अरु कसैलाई गाली गरेर पन्छिन मिल्थ्यो । अब गणतन्त्रमा केही गर्न नसके अरुलाई दोष दिन मिल्दैन ।'

देश चलाउने क्षमता राख्ने नेतृत्व नयाँ शक्तिसँग मात्रै भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, 'जसरी घर चलाउन टोल, टोल चलाउन गाउँ बुझ्नुपर्छ, त्यसैगरी देश चलाउन विश्व बुझ्नुपर्छ । त्यस्तो नेता नयाँ शक्तिसँग मात्रै रहेको र त्यो क्षमता राख्ने व्यक्ति डा.बाबुराम भट्टराई हुनुहुन्छ ।'

नयाँ शक्तिले समावेशि विकासको मुद्दालाई प्राथमिकता दिएको बताउँदै प्रवक्ता सिंहले संसारमा सबैभन्दा विकसित राष्ट्रहरु सबैभन्दा समावेशी भएको उदाहरण पेश गर्नुभयो । 'संसारका सबैभन्दा समावेशी देश सबैभन्दा विकसित छ,' उहाँले भन्नुभयो, 'जहाँ समावेशिता छैन, त्यहाँ अशान्ति छ ।'

देशव्यापी प्रशिक्षक प्रशिक्षणको क्रममा रहेको नयाँ शक्तिका नेताहरु सोमबार दाङ पुग्नुभएको हो । दाङको तुल्सीपुरमा नयाँ शक्तिले मंसिर १२ र १३ गते कर्णाली प्रदेश र प्रदेश ५ को संयुक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पत्रकार भेटघाटमा प्रदेश ५ का संयोजक दानबहादुर चौधरी, कर्णाली प्रदेशका संयोजक शरण बाठामगर लगायतको उपस्थिति रहेको थियो ।