अगस्ट ३१ मा प्रथम अधिवेशन गर्दै नयाँ शक्ति कतार

१२ भदौ २०७५

दोहा । नयाँ शक्ति पार्टी, नेपाल निकट प्रवासी नेपाली समाज अन्तर्राष्ट्रिय नेपाली समाज कतारको प्रथम सम्मेलन अगस्ट ३१ मा हुने भएको छ ।

सम्मेलन दोहाको सलवारोडस्थित ताजा रेष्टुरेन्टको सभाहलमा संगठनको प्रथम अधिवेशनको उद्घाटन हुने भएको हो । सम्मेलनको उद्घाटन पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रवास विभागका ईञ्चार्ज देवेन्द्र पराजुलीले गर्नुहुने अधिवेशन आयोजक समितिका संयोजक देव परियारले जानकारी दिनुभयो ।

सम्मेलनमा 'राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली' विषयमा छलफल गरिने र साथमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने परियारले जानकारी दिनुभयो । समाजको स्थापना १ जनवरी २०१६ मा भएको हो । समाजका पदाधिकारी तथा सल्लाहकारहरु कमल घिमिरे, सूर्य भण्डारी, मनोज दाहाल, ध्रुव क्षेत्री, अब्दुल करिम मिया, मान बहादुर डाँगी क्षेत्री, नवराज लामिछाने, ललित महतो तारा सुनार लगायतहरु अधिवेशन सफल बनाउन सक्रिय रहनुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली समाज कतारले कतार स्थित प्रवासी नेपालीहरुसँग सहकार्य गर्दै आएको छ । समाजले आर्थिक समृद्धि, सुशासनलगायत ५ 'स'प्रति विश्वास गर्ने नेपालीसँग सहकार्य गर्दै आएको छ । समाजले सम्मेलनमा उपस्थित हुन प्रवासी नेपालीदाई आह्वान गरेको छ ।