नेपालको संविधान संसारकै उन्नत, केही अपुग कुरा थप्नुपर्छ : संयोजक भट्टराई

१८ भदौ २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले नेपालको संविधान संसारकै उन्नत संविधान भन्दै केही अपुग कुराहरु थप्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा समृद्धि सञ्जाल नेपालले आयोजना गरेको ‘संघीय नेपालमा नागरिक समाज एवं सामाजिक संघ संस्थाका अवसर र चुनौतिहरु’ विषयक अन्तरक्रियामा संयोजक भट्टराईले भन्नुभयो, ‘संसारमा भएको सबैभन्दा उन्नत संविधान नेपालको छ । संविधान बनाउने भूमिकामा मैले पनि सहयोग गर्ने अवसर पाएँ, गर्व लाग्छ । संविधानमा अपुग केही कुराहरुलाई थप्दै जानुपर्छ, कार्यान्वयन गर्ने बेलामा ऐनहरुलाई विचार गर्नुपर्छ ।’

उहाँले गैह्रसरकारी संस्थाहरुले देशको विकासका काममा र युद्ध तथा विपद्को बेलामा सहयोग गर्दै आएको उल्लेख गर्दै उहाँले गैह्रसरकारी संघसंस्थाहरुलाई सरकारले नियन्त्रण गर्नुभन्दा पनि नियमन गर्नुपर्ने पनि बताउनुभयो । ‘नागरिक समूह, गैह्रसरकारी संस्थाहरुलाई राज्यले नियन्त्रण गर्नुहुँदैन । गैह्रसरकारी संस्थाहरुले स्थानीय तहसँग जोडिएर काम गर्नुपर्छ । दर्ता पनि स्थानीय तहबाट नै गर्दा राम्रो हुन्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका विज्ञ परिषद् सदस्य एवं समृद्धि सञ्जाल नेपालका सदस्य गजाधर सुनारले गैरसरकारी संस्थाहरुको अवसर र चुनौति दुवै भएको भन्दै संविधानअनुसारको काम गर्न पर्याप्त ठाउँहरु रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री डा. केशवमान शाक्यले गैह्रसरकारी संस्थाहरुको भूमिका समयअनुसार परिवर्तन भइरहेको बताउनुभयो । उहाँले गैरसरकारी संस्थाहरुले जनता र सरकारको बीचमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।