शहीदहरुको स्मृतिमा नयाँ शक्तिको रक्तदान कार्यक्रम, ५८ जनाद्वारा रक्तदान

२३ भदौ २०७५

काठमाडौं । शहीद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (बैरागी)को स्मृतिमा नयाँ शक्ति पार्टीले रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर र स्मृति सभाको आयोजना गरेको छ । नयाँ शक्ति पार्टीको शहीद, बेपत्ता परिवार, घाइते अपाङ्ग एवं द्वन्द प्रभावित परिवार व्यवस्थापन विभागले आज पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शहीदहरुको स्मृतिमा विविध कार्यक्रम आयोजना गरेको हो ।

रेडक्रस सोसाइटीसँगको सहकार्यमा भएको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गर्नुभएको थियो । भेनस हस्पिटलसँगको सहकार्यमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

शहीद वासु र बैरागीको स्मृतिमा आयोजित सभामा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शहीद, वेपत्ता तथा घाइते परिवारहरूको अहिले पनि उचित रुपले व्यवस्थापन हुन नसक्नु दु:खद् रहेको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा शहीद तथा वेपत्ता आयोग गठन गरे पनि त्यसले सोचे जस्तो काम गर्न नसकेको उहाँले बताउनुभयो ।

डा. भट्टराईले तत्कालीन माओवादीका सबैभन्दा माथिल्लो जिम्मेवारीमा रहेका नेता सुरेश वाग्ले र माओवादीमा पहिलो पटक गठन गरिएको प्लाटुनका प्लाटुन कमाण्डर भीमसेनको सम्झनामा भाद्र २३ गते शहीद तथा बेपत्ता दिवस मनाए पनि लखन थापादेखि राणा शासनविरुद्ध, पञ्चायतविरुद्ध र गणतन्त्र प्राप्तिका लागि र मधेश आन्दोलन लगायत सबै आन्दोलनमा शहीद हुनेहरूको उत्तिकै उच्च मूल्याङ्कन हुने पनि बताउनुभयो । उहाँले अहिलेको अवस्था हेर्दा वर्तमान सरकारले शहीद, वेपत्ता, घाइते, अपाङ्ग र द्वन्द प्रभावितको निम्ति उचित व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै नयाँ शक्तिले भने जस्तो सरकार देशमा भए त्यसले मात्र यी समस्या हल गर्न सक्ने पनि बताउनुभयो ।

सोही कार्यक्रममा शहीद सुरेश वाग्लेका ज्येष्ठ सुपुत्र दीपक वाग्लेले शहीदहरूको सपना पूरा हुन नसकेको बताउँदै आफू सधैँ शहीद सुरेश वाग्ले लगायतले देखेको सपना पूरा गर्न सक्रिय हुने बताउनुभयो ।

शहीद, बेपत्ता परिवार, घाइते अपाङ्ग एवं द्वन्द प्रभावित परिवार व्यवस्थापन विभागका संयोजक राजु नेपालीले नयाँ शक्ति पार्टीले देखाएको बाटोमा देश अगाडि बढ्न सके शहीद तथा वेपत्ताका परिवार, घाइते अपाङ्ग एवं द्वन्द प्रभावितका परिवारहरूको उचित व्यवस्थापन हुन सक्ने बताउनुभयो । शहीद भीमसेन पोखरेलका भाइ युवा नेता रमेश पोखरेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।