विकास र समृद्धिको काम पुराना पार्टीहरुबाट सम्भव छैन: संयोजक भट्टराई

२३ भदौ २०७५

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पत्रकार एवं सञ्चारकर्मीहरूले देश र समाजका सबै अंगहरुको निगरानी गर्ने भएकाले सचेततापूर्वक उनीहरूले जनतालाई सही र तथ्यपरक सूचना सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ । नयाँ शक्ति पार्टीको प्रदेश नं. ३ को प्रचार विभाग र नेपाल प्रेस सोसाइटी ३ नं. प्रदेशको नवगठित कार्य समितिका सदस्यहरूलाई बधाई तथा शुभकामना दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मुलुकको वर्तमान समस्या समाधान गरेर समावेशी विकास र आर्थिक समृद्धिको एजेण्डा अघि बढाउने काम अहिलेको सत्तारुढ दल नेकपा तथा प्रतिपक्ष दल नेपाली काँग्रेसबाट हुन नसक्ने भन्दै उहाँले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभयो । अब देशको वैकल्पिक राजनीतिक ध्रुवको नेतृत्व नयाँ शक्तिले गर्ने बताउँदै संयोजक भट्टराईले विकास र समृद्धिका लागि नयाँ शक्तिले अंगालेको ‘पाँच स’को अवधारणा उपयुक्त भएको पनि बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टी प्रदेश नं. ३ का संयोजक सोनामसिं स्याङ्तानले अहिलेका ठूला दलहरू विघटनको दिशामा अगाडि बढेको बताउँदै अबको भविष्य नयाँ शक्तिको भएको दावी गर्नुभयो । उहाँले अग्रगामी एजेन्डा जनतामा स्थापित गराउन पत्रकारले महत्वपूर्ण भूमिका निभाउनुुपर्ने बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टी, केन्द्रीय प्रचार विभागका प्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता कार्यकर्ताले आफ्नो सैद्धान्तिक र वैचारिक स्तर उठाउँदै नेतृत्वको निम्ति आफूलाई तयार पार्नुपर्ने बताउनुभयो । आफूले जिम्मा लिएको काम नगर्ने तर नेतृत्वले यो गरेन त्यो गरेन भनेर आलोचना मात्र गर्ने प्रवृत्तिले वैकल्पिक शक्ति र विचार नबन्ने भएकोले सबैले आ–आफ्नो जिम्माको काम पूरा गर्नेतर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नयाँ शक्ति पार्टी ३ नं. प्रदेशका प्रचार विभाग संयोजक केशव अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा ४ जना पछि थप्ने गरी १५ सदस्यीय प्रचार विभाग गठन गरिएको छ । जसमा डिल्लीराज पौडेल (रसुवा), कृष्ण महर्जन (ललितपुर), ध्रुव ढकाल (मकवानपुर), सारदा घिमिरे (चितवन), कमला नेपाल (नुवाकोट), बलराम श्रेष्ठ (काभ्रे), दिलिप शाही (काठमाडौं), पवनप्रसाद उपाध्याय (काठमाडौं), यज्ञ कार्की (भक्तपुर) र माधव गजुरेल (नुवाकोट) रहनुभएको छ ।

यसै गरी नेपाल प्रेस सोसाइटी ३ नं. प्रदेशको १५ सदस्यीय नयाँ कार्यसमिति पनि गठन भएको छ । समितिको अध्यक्षमा योगेन्द्रप्रताप शाही चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा गणेश आचार्य, सचिवमा शिव बस्नेत, सह–सचिवमा केदार भट्टराई, कोषाध्यक्षमा सिर्जना ग्लान, सदस्यहरूमा विपिन पौडेल, सन्तोष गौतम, यज्ञ कार्की, सञ्जय मर्हजन, शैलेश, अनुजा न्यौपाने, रामकृष्ण तामाङ रहनुभएको छ ।

कार्यक्रममा केन्द्रीय प्रचार विभागका सदस्य प्रल्हाद पोखरेल, साँस्कृतिक विभागका प्रदीप देवान लगायतले नवगठित कार्यसमितिका सदस्यरूलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

०००