वेपत्ता नागरिकहरुको अवस्था सार्वजनिक गर्न माग गर्दै वेपत्ता छानविन आयोगलाई ज्ञापनपत्र

२४ भदौ २०७४

काठमाडौं । नयाँ शक्ति पार्टीले वेपत्ता पारिएका नागरिकहरुको सत्य तथ्य अवस्थाबारे शीघ्र सार्वजनिक गर्न माग गर्दै वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगलाई ज्ञापनपत्र बुझाएको छ । आज नयाँ शक्ति पार्टीको शहीद बेपत्ता परिवार, घाईते अपाङ्ग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभागले आज आयोगको कार्यालयमा गई आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो ।

आयोगलाई बुझाइएको ज्ञापनपत्र:

श्री अध्यक्ष ज्यू,
वेपत्ता पारिएको व्यक्तिको छानविन आयोग
काठमाडौं ।

विषय : ज्ञापन पत्र बारे ।

नेपाली जनताले राजनीतिक परिर्वतनका लागि विभिन्न चरणमा आन्दोलन गरेको कुरा अबगत भएकै बिषय हो । केही त्यस्ता आन्दोलन भए जसको कारण नेपाली राजनीतिमा ठुलो परिर्वतन सम्भव भयो । फल स्वरुप हामीले गणतान्त्रिक संविधान प्राप्त गयौ । संघियता,समावेशिता,धर्मनिरपेक्षता जस्ता महत्वपुर्ण उपलब्धी भएको छ । तर तिनै उपलब्धीका लागी जीवन उत्सर्ग गर्ने वीर योद्धाहरुको परिवारको विचल्ली छ । हजारौ योद्धाहरु वेपत्ता हुनुहुन्छ । वेपत्ता योद्धाहरुको परीवारको चित्कार सुन्न सरकार तयार छैन ।‘कि श्वास दे कि लास दे भन्दै ती हजारौ परिवार र सिंगो समाजले भनिरहदा सरकार कानमा तेल हालेर बसेको छ ।“वेपत्ता पारिएका ब्यक्तिको छानविन,सत्यनिरुपण तथा मेलमिलाप आयोग” बनेको यत्तिका वर्ष बितिसक्दा पनि अझै त्यस आयोगले प्रभावकारी काम गर्न सकिरहेको छैन । तसर्थ हामी त्यस आयोग र नेपाल सरकार सँग निम्न लिखित मागहरु सहित यो ज्ञापनपत्र पेस गर्दछौ ।

- तत्कालिन राज्य पक्ष र विद्रोहि पक्ष वीच भएको वृहत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म अनुसार युद्धकालीन घटनाहरुको छानविन गरियोस् ।
- बेपत्ता पारिएका ब्यक्तिहरु बारे सत्य तथ्य शिघ्र सार्वजनिक गरियोस् ।
- कि श्वास दे कि लास दे भनिरहेका वेपत्ता परिवारको माग तुरुन्त सम्बोधन गरियोस् ।
- पीडित परिवारलाई क्षतिपूर्तिको तुरुन्त ब्यवस्था गरियोस् ।
- पीडितको परिवारलाई रोजगार र पिडित पक्षका छोरा छोरी लाई शिक्षाको ब्यवस्था राज्य पक्षबाट गरियोस् ।

ज्ञापनपत्र प्रस्तुतकर्ता
राजु नेपाली
(संयोजक)
शहीद बेपत्ता परिवार, घाईते अपाङ्ग एवं द्वन्द्व प्रभावित परिवार व्यवस्थापन विभाग


डाउनलोड