नयाँ शक्तिको विरोध प्रर्दशन, महिला र दलितमाथि हुने सबैखाले हिंसा अन्त्यको माग

२९ भदौ २०७५

काठमाडौं । नयाँ शक्ति पार्टीको दलित तथा अल्पसंख्यक विभागलले देशव्यापी रुपमा दलितमाथि भइरहेको जातीय विभेदका घटना, महिलामाथि भएको हिंसा, हत्या र बलात्कारको घटनाविरुद्ध राजधानीमा विरोध प्रर्दशन गरेको छ । शुक्रबार राजधानीमा प्रर्दशन गर्दै नयाँ शक्तिको दलित तथा अल्पसंख्यक विभागले महिलाविरुद्ध हुने सबैखाले घटनाको विरुद्ध लाग्ने प्रतिवद्धता समेत गरेको छ ।

विरोध र्‍यालीमा सहभागीहरुले ‘प्रम ओली जोक्समा, जनता सबै शोकमा, कञ्चनपुर हत्याको निष्पक्ष छानविन गर, बलात्कारीलाई राजनीतिक संरक्षण बन्द गर’ जस्ता प्ले–कार्ड बोकेका थिए ।

विरोध कार्यक्रममा सहभागी नयाँ शक्ति पार्टी, नेपालकी काठमाडौं जिल्ला संयोजक मानुषी यमी भट्टराईले महिलामाथि हुने सबैखाले हिंसाको विरुद्ध आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो । ‘विगतदेखि नै आफूहरुले सरकारले गरेको राम्रो कामको समर्थन र नराम्रो कामको खवरदारी गर्दै आएका छौं । त्यसको निरन्तरतामा नै हामीले आज यो कार्यक्रमको आयोजना गरेका हौं । निर्मला पन्त हत्याको निष्पक्ष छानविन होस् । राजनीतिक संरक्षण हामी सहने छैनौं । महिलामाथि हुने सबैखाले हिंसाको अन्त्य हुनुपर्छ’, संयोजक मानुषी यमीले बताउनुभयो ।

र्‍यालीमा सहभागी रेखा शर्माले पनि महिला र दलितमाथि हुने हिंसाविरुद्ध आन्दोलन जारी राख्ने बताउनुभयो । ‘सरकारले निर्मला पन्तको हत्यारालाई संरक्षण दिइरहेको छ’, उहाँले भन्नुभयो, ‘दलितमाथि हिंसा भइरहेको छ, धारामा जान नदिने मन्दिर पस्न नदिने जस्तो प्रचलन नेपालमा भइरहेको छ यसको विरुद्धमा नै हाम्रो आजको प्रदर्शन हो । जबसम्म महिला र दलितमाथि हुने विभेद रोकिँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

विरोध प्रर्दशनमा सहभागी नयाँ शक्ति पार्टीका नेता दलमर्दन कामीले पनि महिला हिंसा र दलितमाथि भएको विभेदको घटनाबारे सरकारलाई ध्यानाकर्षण गराउन आफूहरु सडकमा आएको बताउँदै चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम गर्न बताउनुभयो ।

र्‍याली माइतिघर मण्डलाबाट सुरु भएर नयाँ बानेश्वरमा पुगेर टुङ्गिएको थियो ।