निर्मलाको न्यायका निम्ति कञ्चनपुरमा रिले अनशन

१८ असोज २०७५

कञ्चनपुर । नयाँ शक्ति पार्टी, नेपालसहित नागरिक समूहले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायकालागि आजदेखि रिले अनशन सुरु गरेका छन् । नयाँ शक्ति पार्टीकी सात नम्बर प्रदेशकी महिला संयोजक माया नेगीले निर्मला पन्तको न्यायकालागि आजदेखि रिलेअनशन बसेको जानकारी दिनुभयो ।

‘निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि हामीले चरण चरणमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायौं । १७ दिनसम्म मेरै नेतृत्वमा आन्दोलन भए । हिजो हाम्रो नागरिक समाजको वैठक बसेको थियो । वैठकले आजदेखि जिल्ला प्रशासन कार्यालयअगाडि रिले अनशन बस्ने निर्णय गरेको थियो । त्यसैअनुसार आजदेखि नयाँ शक्ति पार्टीलगायत विभिन्न नागरिक समूह निर्मलाको न्यायकालागि रिलेअनशनमा बसेको छ’, उहाँले भन्नुभयो । उहाँले उच्चस्तरीय छानविन समितिको रिपोर्ट सार्वजनिक गर्नुपर्ने आफूहरुको तत्कालको माग रहेको बताउनुभयो ।

‘सरकारले गठन गरेको उच्चस्तरीय छानविन समितिको रिपोर्ट तत्काल सार्वजनिक हुनुपर्छ । वास्तविक दोषीको नाम मात्रै सार्वजनिक हुनुपर्छ । जीवन घर्तीमगर, दिलिप विष्ट, हेमन्त भट्टलगायतका व्यक्तिहरुलाई सार्वजनिक गर्न खोजियो । अब यस्तो घटना नहोस् । जबसम्म निर्मलाले न्याय पाउँदिनन् तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ’, उहाँले भन्नुभयो ।

निर्मलाको न्यायका निम्ति अहिले देशैभरी आन्दोलन भइरहेको छ । पन्तको गत साउन १२ गते भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो ।

०००