'भ्रमणबाट अगाडि बढ्नका निम्ति मनोबल बढेको छ'

२४ असोज २०७५

हाम्रो अमेरिका भ्रमण अत्यन्त उपलब्धिमुलक र सफल रहेको हामीले अनुभूति गरेका छौं । नेपालमा विकास र समृद्धिको नयाँ चरणमा हामी प्रवेश गरिरहेको सन्दर्भमा विभिन्न देशका अनुभवहरु के छन्, त्यसबाट सिक्ने हाम्रो लक्ष्य हो । त्यसैले हामीले यूरोपपछि अमेरिकाको भ्रमण गर्‍यौं । अमेरिकामा पनि केही विशेष ठाउँहरुमा हामी गयौं, जहाँ गएपछि अमेरिकालाई बुझ्न सकियोस् । अमेरिका संसारमा ज्ञान उत्पादनको मुख्य केन्द्र पनि बनेको छ  । त्यहाँका राम्रा विश्वविद्यालयहरुमा पुगेर विचारक र चिन्तकहरुसँग पनि अन्तरक्रिया गर्‍यौं । र, त्यहाँ गएर विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरुका अनुभव पनि सुनौं भन्ने हाम्रो सोच थियो । यी काम सफलतापूर्वक गर्न सकियो । यस दृष्टिले हाम्रो भ्रमण सफल रह्यो ।

भ्रमणको क्रममा हामी अमेरिकाका पूर्व–पश्चिम, उत्तर–दक्षिणका चार ठाउँमा जानेक्रममा सबैभन्दा पहिला हामी दक्षिणी भेग टेक्सस गयौं । जहाँ हयुस्टन स्पेश अन्तरिक्ष केन्द्र छ । मानव जातिले चन्द्रमामा पहिलोपटक पदार्पण गरेको र त्यसलाई नियन्त्रण गरेको ठाउँ । त्यसलाई विकासको बिम्बात्मक ढंगले पनि अनुभूति गने मेरो चाहना थियो ।

त्यसपछि हामी उत्तरमा गयौं मिनिसट्टा । उक्त ठाउँ कृषिको विकास र कृषि विश्वविद्यालयका लागि चर्चित छ । त्यहाँ हामीले कृषिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्ययन गर्‍यौं । त्यसपछि हामी पछिल्लो समय सूचना तथा सञ्चार प्रविधिको केन्द्र मानिने क्यालिफोर्निया गयौं । सिलिकन भ्याली रहेको उक्त क्षेत्रमा पुगेर हामीले गुगल, फेसबुक, ट्वीटर लगायतका केन्द्रहरुको हामीले अवलोकन गर्‍यौं । क्यालिफोर्निया शिक्षाको लागि पनि निकै विकसित मानिन्छ । युनिभर्सिटी अफ क्यालिफोर्नियामा पुगेर हामीले त्यहाँको शिक्षा पद्धति, प्रणालीबारे अवलोकन गर्‍यौं । सिनेमा उद्योगको केन्द्र मानिने लस एञ्जेल्स पुगेर सिनेमाको पछिल्लो प्रविधिको बारेमा हामीले अवलोकन गर्‍यौं । नजिकै रहेको कोलोराडोमा बनेको हुभर ड्यामको अवलोकन गर्‍यौं । त्यो २०औं शताब्दीको सबैभन्दा ठूलो बिजुलीको केन्द्र थियो । ठूला पूर्वाधारको विकास गरेर नै अमेरिकाको आजको विकास सम्भव भएको हामीले अनुभूत गर्‍यौं ।

त्यसपछि हामी अमेरिकाको दक्षिणी भेग न्यूयोर्क, वासिंग्टन डिसी, बोस्टनको हामीले अवलोकन गर्‍यौं । यी क्षेत्रहरु संसारमा ज्ञान उत्पादनका लागि चर्चित छ । त्यहाँका विभिन्न विश्वविद्यालयहरुमा पुगेर प्राध्यापक, नोबेल पुरस्कार बिजेताहरु, अर्थशास्त्रीहरुसँग हामीले अन्तरक्रिया गर्‍यौं । यसले पछिल्लो समयको अर्थशास्त्रीय विकास बुझ्न धेरै मद्दत पुग्यो ।

यसका साथै अमेरिकामा रहेका नेपालीहरु जो विभिन्न व्यवसाय, विश्वविद्यालय, अनुसन्धानमा संलग्न हुनुहुन्छ, उहाँहरुसँग पनि हामीले भेटघाट, छलफल र अन्तक्र्रिया गर्‍यौं । नेपालको विकासका निम्ति उहाँहरुको के योगदान हुनसक्छ ? लगायतका विषयहरुमा उहाँहरुसँग गहन छलफल भयो ।

समग्रमा, यस भ्रमणमा हामीले मुख्यतः पछिल्लो ज्ञान कहाँ पुगेको छ ? विज्ञान र प्रविधिको विकास कहाँ पुगेको छ ? त्यसलाई बुझ्ने र त्यसबाट नेपालजस्तो अल्पविकसित देशहरुले विकासका निम्ति के गर्नसक्छ भन्नेबारेमा हामीले चिन्तन मनन गर्‍यौं । किनभने, पछिल्लो समय के मानिन्छ भने मानव जातिको विकास विचारको संसर्ग अर्थात् सेक्स अफ आइडियाज् अर्थात् विभिन्न विचारहरुको सम्मिलनबाट नयाँ विचार पैदा हुन्छ र हाम्रो सभ्यताको विकास हुन्छ भन्ने एउटा सोच पनि अगाडि आएको छ । त्यसैले बुद्ध दर्शन लगायत पूर्विया दर्शनमा भएका विचार र पश्चिमा आधुनिक सभ्यतामा भएका विचारका विकासको उचित संयोजनबाट नेपालजस्तो अल्पविकसित देशले एउटा नयाँ विकासको बाटो लिनसक्छ । यिनै अनुभव र अनुभूतिसहित हामी स्वदेश फर्किएका छौं । त्यसर्थ, हाम्रो यो भ्रमण निकै सफल भएको छ भनेका छौं । र, म आफू व्यक्तिगतरुपमा पनि अत्यन्त सन्तुष्ट छु ।

हुन त, सिक्ने कुराहरुको कहिले पनि अन्त्य हुँदैन । त्यहाँ गएर मात्रै सिकिन्छ भन्ने पनि होइन । अहिलेको युगमा पुस्तक र इन्टरनेटबाट पनि सिक्न सकिन्छ । तर, प्रत्यक्ष अवलोकन र अनुभूति गरेर र त्यहाँका विद्धान प्राध्यापक, अनुसन्धातासँग प्रत्यक्ष छलफल गर्दा धेरै विषयमा प्रष्ट हुन मद्दत पुग्दो रहेछ । त्यहाँ विभिन्न क्षेत्रका विकासका केन्द्रहरु जस्तो, मैले भनेँ, अन्तरिक्ष विज्ञान विकासको केन्द्र, प्रविधिको विकासको केन्द्र सिलिकन भ्याली र ज्ञानको उत्पादनको केन्द्र हार्वाड विश्वविद्यालयमा पुग्दा फरक र जीवन्त अनुभूति भयो । जस्तो नोबेल पुरस्कार बिजेता जोसेफ स्टिगलिट्ज र दिगो विकास नीतिका प्रणेता जेफ्री स्याक्स् जस्ता अर्थशास्त्रीसँग भेटेर कुरा गर्दा हिजोका पुँजीवादी र साम्यवादी बाटोको कुरा गरिन्थ्यो, ती दुवै बाटोको अपूर्णता र अहिले बजार र राज्य दुवैको उचित संयोजनसहितको विकास नीति आवश्यक छ । नयाँ शक्ति निर्माण अभियानको बेला पनि मलाई जे लागेको थियो, उहाँहरुसँग छलफल गर्दा पनि हाम्रो सोच मुलभूतरुपमा सही रहेको भन्ने मलाई अनुभूति भयो ।

बजारलाई सबैकुरा छाडिदिने पुँजीवादी बाटो र राज्यलाई नै सबैकुरा छाडीदिने साम्यवादी बाटो, यी दुवै बाटोबाट २१औं शताब्दीमा सबैका लागि विकास र समृद्धि सम्भव हुँदैन । हामीलाई लागेको यी कुराहरु उहाँहरुसँग छलफल गर्दा खासगरी एमआइटी र हार्वाड विश्वविश्वालयका चिन्तकहरुसँग जस्तै, ह्वाई नेशन फेल्स्का लेखक ड्यारन एसीम्याग्लु र पछिल्लो मानवशास्त्र र मनोविज्ञानका वेत्ता स्टिफन पिंकरलगायतका चिन्तकहरुसँग कुरा गर्दा २१औं शताब्दीमा विकासको एउटा नयाँ मोडल खोज्न आवश्यक छ र हिजोको पुँजीवाद र साम्यवादभन्दा माथि उठेर विचारकै विकास पनि गर्न आवश्यक छ भन्ने गहिरोसँग अनुभूति भइरहेको थियो, त्यो दिशामा अगाडि बढ्नका निम्ति मनोबल र आत्मबल बढेको अनुभूति भइरहेको छ । किनकी आफ्नो जुन सोच थियो, त्यसलाई वैज्ञानिक चिन्तकहरुले पनि आड दिँदा अगाडि बढ्न बाटो खुल्छ । त्यसअर्थमा, हाम्रो भ्रमण उपयोगी भएको मैले ठानेको छु ।   

(बुधबार एक महिना लामो अमेरिका भ्रमणबाट फर्कनुभएका डा. भट्टराईसँग विमानस्थलमा भएको संक्षिप्त कुराकानीमा आधारित)