अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलमा नयाँ कार्यसमिति, अध्यक्षमा शेर्पा निर्वाचित

१२ कात्तिक २०७५

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको पहिलो अधिवेशनबाट धनराज शेर्पा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । 

आइतबार सम्पन्न प्रथम अधिवेशनबाट उपाध्यक्षमा भरत ढकाल र विमल पन्थी, महासचिवमा ईश्वर पाण्डे, सचिवमा सुशील आचार्य र कोषाध्यक्षमा विष्णुप्रसाद खतिवडा र सहकोषाध्यक्षमा जिग्मे लामा तामाङ निर्वाचित हुनुभएको छ । अधिवेशनले २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको नवनिर्वाचित कोषाध्यक्ष विष्णुप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा उद्घाटन गरिएको अधिवेशनमा नेपाल पर्यटन बोर्डका दूत रमेशकुमार गुरुङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नयाँ शक्तिका आर्थिक विभाग सदस्य राजन ढुंगाना, एनआरएनए आइसिसी सदस्य नरेन्द्र हमाल, एनआरएनए पोर्चुगल अध्यक्ष कुवेर कार्की, प्रवासी नेपाली मञ्चका अध्यक्ष गोविन्द पौडेल, जनसम्पर्क समिति अध्यक्ष बिनोद घिमिरे, नेपाल आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष राजेन्द्र शेर्पा, नेपाली संघीय समाजका अध्यक्ष सोम शेर्पा, नेपाल पत्रकार महासंघ युरोप च्याप्टरका महासचिव योगेन्द्रमिलन छन्त्याल, नारी समाज पोर्तुगलकी अध्यक्ष सीता बराल लगायतले अधिवशेन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनलाइनमार्फत उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको थियो । निर्वाचित भएपछि अध्यक्ष शेर्पाले सम्बद्ध सबै पक्षसँग सहकार्य गर्दै प्रवासी नेपालीलाई थप एकताबद्ध बनाउँदै नेपाली समाजको हित र कल्याणमा क्रियाशील हुने प्रतिवद्धता जनाउनुभयो ।