मन्त्री अधिकारीसँग ‘वाइड बडी काण्ड’ छानबिनको माग गर्ने विद्यार्थी गिरफ्तार

१० मंसिर २०७५

पोखरा । बहुचर्चित वाइडबडी जहाज खरीद प्रक्रियाको छानबिनको माग गर्ने नयाँ शक्ति विद्यार्थी युनियनका नेताहरुलाई पोखराबाट प्रहरीले गिरफ्तार गरेको छ । 


सोमबार पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई वाइड बडी काण्डको छानबिनको माग गर्दै कालो झण्डा देखाउने विद्यार्थीहरु पक्राउ पर्नुभएको हो । नयाँ शक्ति कास्कीका संयोजक किरण थापा अमोदका अनुसार नयाँ शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं, रेशम सापकोटा, कृष्ण अधिकारी, नरेन वस्सेल, विशाल तिमल्सिना लगायतका नेताहरुलाई मन्त्री अधिकारीको निर्देशनमा प्रहरीले गिरफ्तार गरेको छ । 

‘शान्तिपूर्ण विरोध गर्न पाउनु जनताको नैसर्गिक र संवैधानिक अधिकार हो,’ संयोजक थापा भन्नुहुन्छ, ‘प्रहरीले पक्राउ गरेका नेताहरुलाई तुरुन्त र बिनाशर्त रिहा गरोस्, राज्य भ्रष्टाचारको रक्षक नबनोस् ।’ उहाँले तत्काल रिहाई नगरे विरोधका अरु कार्यक्रम अगाडी बढाउने चेतावनी दिनुभयो ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याइसकेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरीत काम भएको जनाएको हो । निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टीकरण लिएको छ ।