नेकपा माले बर्दिया नयाँ शक्तिमा समायोजित

१२ मंसिर २०७५

बर्दिया । नेकपा माले बर्दिया जिल्ला समिति नयाँ शक्ति पार्टी, नेपालमा समायोजन भएको छ ।

मंगलबार नयाँ शक्ति पार्टी, नेपालका बर्दिया इञ्चार्ज केशवराज पौडेल र नेकपा माले बर्दिया जिल्ला अध्यक्ष नरबहादुर बोहोरा पार्टी समायोजन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको हो । अध्यक्षद्वयद्वारा हस्ताक्षरित वक्तव्यमा पार्टी समायोजनको निर्णय उल्लेख छ ।

'नयाँ शक्ति पार्टी, नेपाल नै अब देशको समस्या समाधान गर्ने वैकल्पिक शक्ति भएको ठहर गर्दै बर्दियामा क्रियाशील रहेको नेकपा माले पूरै जिल्ला समिति मंगलबारदेखि नयाँ शक्ति पार्टीमा समायोजन भएको घोषणा गर्दै नेकपा मालेको बर्दियामा कुनै संगठन नरहेको जानकारी गराउँछौं,' वक्तव्यमा भनिएको छ, 'हामी हाम्रो पुरानो विचारलाई परिवर्तन गरी नयाँ विचार, नयाँ योजनासहितको अबको निकास समावेशी विकास, समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने नारालाई सार्थक बनाउन सबैले हिम्मत र साह गरौं ।'

वक्तव्यमा विचार बदलिए समाज बदलिने बताउँदै नेकपा नेतृत्वको दुईतिहाई बहुमतको सरकारको आलोचना गरिएको छ । 'निर्वाचित सरकारले नयाँ युगको नयाँ कार्यभारसहित जनताको अवस्थामा परिवर्तन हुने आर्थिक समृद्धिका योजना र नीति स्थापित गर्नुको सट्टा देशमा बढ्दै गईरहेको हत्या हिंसा, महंगी र भ्रष्टाचारले जनतामा उत्साहभन्दा निराशा पैदा भएको छ,' वक्तव्यमा भनिएको छ ।