माया लागे पनि बुढी भैंसी दुहेर दुध आउँदैनः संयोजक भट्टराई

१९ मंसीर २०७५

ओखलढुंगा । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले नेपालका परम्परागत पार्टीहरुलाई बेत बसेको बुढी भैंसीको संज्ञा दिनुभएको छ । बुधबार जनभेटघाटका क्रममा ओखलढुंगा पुग्नुभएका संयोजक भट्टराईले पुराना पार्टीहरुको औचित्य नभएको र समृद्धिको लागि नयाँ पार्टी आवश्यक भएको बताउनुभयो ।

‘बेत बसिसकेको बुढी भैंसीलाई दुहेर दूध आउँदैन, भावनात्मकरुपमा माया लाग्छ तर दूध नै खाने हो भने अर्को भैंसी किन्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘दूध नआए पनि बुढी भैंसी दुहिरहने काम नागरिकले छाड्नुपर्छ ।’ उहाँले कांग्रेस एमालेलाई यस्तै दूध दिन नसक्ने बुढी भैंसीको संज्ञा दिनुभयो ।

‘मंसीरमा धान काटेपछि धान काटेको ठूटो सुम्सुम्याएर बस्नुको कुनै अर्थ छैन । जसरी किसानले त्यो खेत जोतेर नयाँ खेती गर्छन्, राजनीति पनि त्यस्तै हो । हामीले गणतन्त्रका लागि एउटा अभियान सुरु गरेर सम्पन्न गर्‍यौं । अब समृद्धिको लागि नयाँ पार्टी बनाउनुको विकल्प छैन’, उहाँले भन्नुभयो ।

बुढी गण्डकी परियोजना र वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै उहाँले पुराना पार्टीहरुले अब विकास र समृद्धि होइन, भ्रष्टाचार र बेथिति मात्र दिन सक्ने बताउनुभयो । दुर्गम ठाउँमा अहिलेसम्म बिजुली नै नपुगेको भन्दै उहाँले नेपालका धेरै दुर्गम भूभागहरु अहिलेसम्म अँध्यारोमा रहेको बेला काठमाडौंमा बसेर शासकहरुले नेपाल लोडसेडिङमुक्त घोषणा गरिरहेको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका संयोजक भट्टराईले आफू प्रधानमन्त्री भएको बेला घोषणा गरेको राष्ट्रिय गौरवको योजनामा सरकारले आफ्नो कामको प्राथमिकता छुट्याउनुपर्नेमा जोड दिनुभयो । सरकारले जनताले गर्ने र सरकारले गर्ने काम विशिष्टीकरण गर्नुपर्नेमा उहाँको धारणा थियो । ‘बिजुली, खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, वित्त व्यवस्थापन र यातायात गरी सात वटा काम सरकारले गर्नुपर्छ र अरु काम नागरिकले गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका नेता तथा पूर्वमन्त्री परशुराम खापुङले मुलुक समृद्ध बनाउन पुराना पार्टीहरूको विकल्प अनिवार्य भएको र त्यसका लागि नयाँ शक्ति तयार रहेको बताउनुभयो ।

बुधबार बिहान काठमाडौंबाट खोटाङ प्रस्थान गर्नुभएका संयोजक भट्टराई सिन्धुलीको खुर्कोट, उदयपुरको घुर्मी, ओखलढुंगाको हर्कपुरमा विविध कार्यक्रममा सहभागी हुनुभयो । संयोजक भट्टराईसँगै टोलीमा परशुराम खापुङ, विज्ञ परिषद सदस्य तथा कृषि वैज्ञानिक मदन राई, प्रवक्ता डम्बर खतिवडा, प्रचार विभाग उपप्रमुख सुदर्शन खतिवडा लगायत रहनुभएको छ ।