प्रदेश ५ : नयाँ शक्तिमा ध्रुवीकरणको लहर

२४ मंसिर २०७५

बुटवल, २४ मंसिर । नेकपा मालेका नेता र केही व्यवसायी तथा युवाहरु नयाँ शक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । सोमबार भैरहवामा आयोजित एक कार्यक्रममा उहाँहरु नयाँ शक्तिमा प्रवेश गर्नुभएको हो ।

नयाँ शक्तिमा प्रवेश गर्नुहुनेमा नेकपा मालेका प्रदेश समिति सदस्य मोहनसिंह राना, रूपन्देही जिल्ला सचिव कृष्ण शाही, जिल्ला सदस्य शेषमणि पाण्डेय, व्यवसायीहरु देवराज मल्ल, गिरीप्रसाद लोहनी, सागर खाती, हरिश्चन्द्र कुर्मी, कुमार रसाइली तथा स्वतन्त्र युवाहरु सुन्दर केवट, दिलिप विक र सरोज पाल रहनुभएको छ ।

नयाँ शक्ति पार्टीले लिएको वैकल्पिक विचारसहित सुशासन, सदाचार, समावेशी सहभागितामूलक लोकतन्त्र, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद जस्ता एजेण्डा ठीक लागेर नयाँ शक्तिमा आवद्ध भएको नवप्रवेशी रानाले बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्तिका प्रदेश ५ इन्चार्ज दानबहादुर चौधरी, प्रवक्ता मनिकर कार्की, संगठन विभाग प्रमुख यज्ञ पोखरेल, नेताहरु बोम दर्लामी, देवेन्द्र पाण्डे सागर लगायतले बोल्दै पार्टीले अघि सारेको ५ महिना, ५ काम ५ परिणाम अभियानलाई सफल बनाउन पार्टी सक्रिय भएर लागिपरेको बताउनुभयो ।

नयाँ शक्ति पार्टी जिल्ला संयोजक विमल गिरीको अध्यक्षता, सिद्धार्थनगरका संयोजक शोभाकान्त नेपालको सञ्चालन र किस्मत विकको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।