निराश बन्दै कम्युनिष्ट कार्यकर्ता, नयाँ शक्तिमा ध्रुवीकरण तीव्र

२५ मंसिर २०७५

मोरङ । विभिन्न पार्टीबाट विद्रोह गरी मोरङबाट नयाँ शक्ति पार्टी, नेपालमा समाहित हुनुभएको छ । नयाँ शक्तिले मंगलबार मोरङमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गर्नुभएको हो । 

नवप्रवेशीलाई स्वागत गर्दै पार्टीका कार्यालय सदस्य तथा पूर्वमन्त्री परशुराम खापुङले समृद्धिको लागि नयाँ शक्तिको विकल्प नरहेको बताउनुभयो । एकजना बलात्कारीलाई चार महिनासम्म पक्राउ गर्न नसक्ने सरकारले समृद्धिको नेतृत्व गर्न नसक्ने धारणा राख्नुभयो । समृद्धिका लागि दूरदृष्टि र दृष्टिकोण चाहिने भन्दै डा. बाबुराम भट्टराईको नेतृत्वमा नेपाली जनताको समृद्धिको सपना पूरा हुने उहाँको धारणा थियो ।

कार्यक्रममा पार्टी प्रवक्ता डम्बर खतिवडाले सरकार विकास र समृद्धिको नेतृत्व गर्नभन्दा शब्द जप गर्नमै रमाइरहेको बताउनुभयो । 'सरकार समृद्धिको काम गर्नभन्दा मन्त्र जप्नै व्यस्त छ,' उहाँले भन्नुभयो, 'यो सरकारसँग जनताले मात्र होइन, स्वयम् नेकपाकै नेता कार्यकर्ताले पनि विश्वास गुमाउन थालिसके ।'

कार्यक्रममा नेपाली कांग्रेस निकट तरुण दलका नेता बिनोद न्यौपाने, संघीय समाजवादी फोरमका जिल्ला सदस्य मोहमद हातिम, विश्व हिन्दू महासंघका युवा अध्यक्ष साजन सिंह, विजयकुमार यादव, विकास कुमात साह, बासु मण्डल, मनोज चौधरी, मुकेश चौधरी, सागर देवकोटा, राहल थापामगर लगायत विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेको पार्टीका प्रदेश प्रवक्ता दलमर्दन कामीले जानकारी दिनुभयो । दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारको गतिविधि देखेर रुष्ट र निराश स्थानीय नेता कार्यकर्ता नयाँ शक्तिमा ध्रुवीकरण गर्ने क्रम बढेको प्रवक्ता कामीले बताउनुभयो ।

कार्यक्रममा पार्टीका प्रदेश संयोजक प्रभुराम श्रेष्ठले कम्युनिष्ट सरकारले देशलाई भंगालोमा हालेको बताउनुभयो ।