निर्मलाका लागि न्याय माग्दा नयाँ शक्तिका नेता हिरासतमा, संयोजक भट्टराईद्वारा घटनाको निन्दा

२८ मंसिर २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टीका नेतालाई सरकारले बिनाकारण पक्राउ गरेको भन्दै सरकारविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ । 

सरकारले नयाँ शक्तिका संघीय संरक्षक परिषद सदस्य तथा कञ्चनपुरका स्थापित नेता खड्गबहादुर सावदलाई सामान्य भनाभनको निहुँमा पक्राउ गरेर सार्वजनिक अपराधको जाली मुद्दा लगाएको भन्दै संयोजक भट्टराईले आक्रोश व्यक्त गर्नुभएको हो । संयोजक भट्टराईले सरकारविरुद्ध आक्रोश पोख्दै लेख्नुभएको छ, ‘दाजुलाई सकिनँ भाउजुलाई… भने झैं कन्चनपुरकी चेली निर्मला मन्तका बलात्कारी र हत्यारालाई चार महिनासम्म पत्ता लगाउन नसक्नेहरूले नयाँ शक्ति नेपालका संघीय संरक्षक परिषद सदस्य तथा स्थापित नेता खड्गबहादुर सावदलाई सामान्य भनाभनको निहुँमा सार्वजनिक अपराधको जाली मुद्दा लगाएर नौ दिनदेखि कैलाली प्रहरीको हिरासतमा राखेका छन् ।’

उहाँले सरकारकी ज्यादतिका विरुद्ध जुट्न आह्वान गर्नुभएको छ । ‘यो ज्यादतीका विरूद्ध नयाँ शक्ति पार्टी र स्थानीय जनसमुदायले प्रशासन र स्थानीय सरकार समक्ष विरोध प्रदर्शन गरेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘तर सत्ताको उन्मादमा लठ्ठीएकाहरूले अहिलेसम्म सुनेकोनसुन्यै गरेकाले जनतामा आक्रोश चुलिदै गएको छ ।’

संयोजक भट्टराईले संस्कृतको श्लोक उद्धृत गर्दै सरकारलाई मुर्ख नबन्न आह्वान गर्नुभएको छ । ‘स्मरण रहोस्- स्थाने स्थित: कापुरूषोपि शूर: ; स्थानं प्रधानं न बलं प्रधानम् अर्थात् महत्वपूर्ण ठाउँमा बस्न पुग्दा लाछी पनि सूरो हुन्छ । स्थान नै मुख्य कुरो हो, बल मुख्य कुरो होइन,’ उहाँले उल्लेख गर्नुभएको छ । 

संयोजक भट्टराईले सत्तासीन नेताहरुलाई चुनौती दिँदै भन्नुभएको छ, ‘फेरि हेक्का रहोस्- जागेका जनताले सर्वशक्तिमान बादशाहहरूलाई पनि घोडाबाट खसालेका छन् ।’

नयाँ शक्ति पार्टी, नेपाल कञ्चनपुरका संयोजक राजेन्द्र देवकोटाले पनि विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विरोध गर्नुभएको छ । ‘केन्द्रीय संरक्षक परिषद सदस्य खड्गबहादुर सावदलाई विगत ८ दिनदेखि झुट्टा सार्वजनिक मुद्दा लगाएर कैलाली जिल्ला प्रहरी कार्यलयको न्यायिक हिरासतमा राखिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राजनैतिक प्रतिशोधका कारण नेकपा सरकारका भरौटैद्वारा लगाइएको झुट्टा मुद्दा तत्काल खारेज गरी बिना शर्त रिहाईको माग गर्दै ८ दिनदेखि गौरीगङ्गा नगरबासी शान्तिपूर्ण आन्दोलनमा छ्न् ।’

नेता देवकोटाले नयाँ शक्ति पार्टी नेपालका संरक्षक परिषद सदस्य सावदलाई तत्काल रिहाई गर्न माग गर्नुभएको छ ।