नयाँ शक्ति धनकुटाको संयोजकमा रायमाझी, बैठक तथा प्रशिक्षण सम्पन्न

२९ मंसिर २०७५

धनकुटा । नयाँ शक्ति पार्टी, नेपालको धनकुटा संयोजकमा श्रीराम रायमाझी चयन हुनुभएको छ । 

शनिबार धनकुटामा आयोजित पार्टीको बैठक तथा प्रशिक्षण कार्यक्रममा श्रीराम राममाझीलाई संयोजकमा चयन गरिएको हो । बैठकले धनकुटा नगर कमिटी पनि गठन गरेको छ । 

अबको निकास, समावेशी निकास भन्ने मूल नारालाई अगाडि सारेको नयाँ शक्तिको बैठकमा पार्टी प्रशिक्षण विभाग प्रमुख तथा प्रवक्ता डम्बर खतिवडाको प्रमुख आतिथ्य र प्रदेश संयोजक प्रभुनारायण श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो । बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै खतिवडाले नयाँ शक्तिको लागि अनुकूल अवस्था तयार भइरहेको भन्दै आन्तरिक शक्ति सुदृढीकरण गरेर देशको नेतृत्व गर्न तयार रहन निर्देशन दिनुभयो ।

बैठकपछि गठन गरिएको २१ सदस्यीय धनकुटा नगर समितिको अध्यक्षमा फडेन्द्र बस्नेत, सचिवमा राजेन्द्र तामाङ, कोषाध्यक्षमा जयमाया राई, सदस्यहरु राजन राई, सचिन श्रेष्ठलगायत चयन हुनुभएको छ । 

बैठकले नगरपालिकाको वडा नं.१ मा राजेन्द्र तामाङ र वडा नं. ३ मा सचिन श्रेष्ठलाई वडा संयोजक तोकेको पार्टीका प्रदेश प्रवक्ता दलमर्दन कामीले जानकारी दिनुभयो ।