नयाँ शक्तिको प्रचार विभाग अध्ययन भ्रमणकालागि भारत जाने

३० पुस २०७५

काठमाडौं । नयाँ शक्ति पार्टीको प्रचार विभागको एक टोली सञ्चार र प्रचारका विविध प्रविधि लगायतका विषयमा अध्ययनका लागि आज भारत भ्रमणमा जाँदैछ । प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वको विभागको टीमले भारतीय जनता पार्टी, भारतीय काँग्रेस, आम आदमी पार्टी लगायतका ठूला पार्टीका प्रचार टीमलाई भेटेर नयाँ नयाँ सूचना तथा सञ्चार प्रविधि, सञ्चार÷प्रचार रणनीति लगायतका बारे अध्ययन गर्नेछ ।

आम सञ्चारका मिडियासँगको सम्बन्ध, प्रभावकारी सञ्चार रणनीति, चुनावी सञ्चार÷प्रचार रणनीतिका सम्बन्धमा समेत छलफल गर्न राजनीतिक पार्टीका नेताहरुका साथसाथै सञ्चार विज्ञहरुसँग समेत भेटघाट गरी छलफल गर्ने प्रचार विभाग प्रमुख पाण्डेले बताउनुभयो । विभाग प्रमुख पाण्डेका अनुसार उहाँले त्यहाँका राजनीतिक पार्टीका शीर्ष तहका राजनीतिक व्यक्तित्वहरुसँग पनि भेटघाट गर्नुहुनेछ । नयाँ शक्ति पार्टीको हेडक्वार्टरले विश्वदीप पाण्डेको नेतृत्वमा मिडिया रणनीति निर्माणका लागि अध्ययन भ्रमण गर्न र केही राजनीतिक संवाद गर्न यो टीमलाई भारत पठाउन लागेको हो ।

अध्ययन भ्रमणमा नयाँ शक्ति पार्टीका युवा नेताहरु सुदर्शन खतिवडा, पंकज राई, प्रल्हाद पोखरेल, मनोज ढोडारी, गणेश खनाल, जनक पाण्डे, दीपक महतो हुनुहुनेछ । भ्रमण १० दिनको हुनेछ ।

०००