‘राजनीति विश्वास र धर्म एजेन्डा बन्नु दुःखद’

६ माघ २०७५

नयाँ दिल्ली । नयाँ शक्ति पार्टी, नेपालका प्रचार विभाग उपप्रमुख सुदर्शन खतिवडाले कम्युनिष्टहरुको दुई तिहाई सरकार चलेको देशमा राजनीति विश्वासमा चल्नु र धर्म एजेण्डा बन्नु बिडम्बनापूर्ण अवस्था भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज दिल्ली राज्य समिति र अन्तर्राष्ट्रिय प्रवासी विद्यार्थी संघ भारतको आयोजनामा आइतबार दिल्लीमा आयोजित वैकल्पिक राजनीति विषयक अन्तरक्रियामा बोल्दै उहाँले दर्शनसँग विज्ञानभन्दा अन्धविश्वास जोडिनु दुःखद भएको बताउनुभएको हो ।

‘हाम्रोमा राजनीति जाति प्रथाजस्तो भइरहेको छ, यो विश्वासदेखि अन्धविश्वासको दायरासम्म फैलिएको छ,’ उहाँले भन्नुभयो, ‘जनआन्दोलनमा सहभागी दलका नेताहरु नै धर्मलाई राजनीतिक एजेण्डा बनाउन लागिपर्नु लाजमर्दो विषय बनेको छ ।’ नयाँ पुस्ताले राजनीतिक दर्शनलाई ज्ञान र विज्ञानसँग जोडेर अन्धविश्वासबाट मुक्त गराउनुपर्नेमा उहाँको जोड थियो ।

पुराना शक्तिहरुको रुपान्तरणको सम्भावना सकिँदै गएको खतिवडाको जोड थियो । ‘डा. बाबुराम भट्टराईले पुरानो शक्तिको रुपान्तरण असम्भवप्रायः देखेरै नयाँ अभियान सुरु गर्नुभएको हो, जुन कुरा सही थियो भन्ने कुरा दिनप्रति प्रष्ट हुँदै गइरहेको छ,’ उहाँले भन्नुभयो ।

व्यवस्था परिवर्तनपछि अवस्था परिवर्तन गर्न नयाँ वैकल्पिक शक्तिको निर्माण नेपालको सन्दर्भमा रहरभन्दा आवश्यकताको विषय रहेको उल्लेख गर्नुभयो । ‘राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई आर्थिक र सांस्कृतिकरुपमा बदल्न नसक्दा देश पछाडि फर्कन सक्छ,’ उहाँले भन्नुभयो, ‘मुलुकलाई प्रगतिपथमा अगाडि लैजान बदलिँदो परिवेशको पदचाप पछ्याउन सक्ने पार्टी, नेतृत्व र संगठनको आवश्यकता छ ।’

अन्तरक्रियामा नयाँ शक्ति विद्यार्थी युनियनका सहसंयोजक दिपक महतो, अन्तर्राष्ट्रिय नेपाली समाज दिल्ली राज्यका संयोजक बिरेन्द्र सिंह, दिल्लीमा रहेका विभिन्न पार्टी र संघसंगठनका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय नेपाली समाज दिल्ली र विद्यार्थी संगठनबाट सहभागीहरुले वैकल्पिक राजनीतिको औचित्य र प्रभावकारिताबारे अन्तरक्रियामा सहभागी बनेका थिए ।