‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ बारे प्रेस विज्ञप्ति

१२ माघ २०७५

प्रेस विज्ञप्ति

प्रिय पत्रकार मित्रहरु,
नयाँ शक्ति पार्टी, नेपालको संघीय परिषदको १५औं बैठकद्वारा पारित ‘पाँच महिना, पाँच काम, पाँच परिणाम’को सांगठनिक कार्ययोजनाको पूरक कार्यक्रमको रुपमा पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झूलाघाटसम्मको १७७६ किमिको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग)मा ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ गर्ने निर्णय भएको छ । भौगोलिक विकटता र मानव विकास सूचकांकमा पनि पछाडि परेको यस क्षेत्रलाई अभियानको आधारक्षेत्रको रुपमा स्थापित गर्नुले नै यो कार्यक्रमको महत्व स्पष्ट हुन्छ । उक्त निर्णयलगायत देशका समसामयिक विषयवस्तुबारे हाम्रो धारणा सार्वजनिक गर्न यो पत्रकार सम्मेलन आयोजना गरेका छौं ।


१. मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) जनसंवाद यात्रा
केन्द्रीय संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका हेडक्वार्टर सदस्यहरुको अगुवाईमा सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेशागत संगठनका नेताहरुसहित यही माघ १५ गते बिहान ८ बजे पाँचथरको चिवाभञ्जाङबाट फागुन १५ मा बैतडीको झुलाघाटमा समापन गरी एक महिनासम्म सञ्चालन हुने यस कार्यक्रमका विषयवस्तु, उद्देश्य र स्वरुप यसप्रकार हुनेछन्–

क. यात्राका मूल विषय ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ रहेको छ ।

ख. यात्रा सञ्चालनको क्षेत्र मध्यपहाडी लोकमार्ग अन्तर्गतका मुख्य शहर र बस्तीहरुमा सञ्चालन हुनेछ ।

ग. कार्यक्रमका मूल उद्देश्य निम्नप्रकारका छन्

  • पार्टीले अंगालेको वैकल्पिक विचार, असल राजनीतिलाई जनसमक्ष प्रसार गर्नु र जनताको सुझाव ग्रहण गर्नु ।
  • नयाँ शक्ति पार्टी, नेपालद्वारा प्रस्तुत समावेशी समृद्धिको खाका र अवधारणा प्रष्टसँग आमजनतामा पुर्‍याउनु ।
  • संघीयता कार्यान्वयनका शिलशिलामा देखापरेका अकर्मण्यता र शिथिलताको अन्त्य गरी संघीयताको पक्षमा दृढतापूर्वक उभिन र त्यसका बारेमा विभिन्न स्थानका जनप्रतिनिधिहरु, स्थानीय तह र आम जनतालाई प्रशिक्षित गर्नु ।
  • देशको युवा पंक्तिसँग सिधा सम्बन्ध स्थापित गरी युवा शक्तिको विदेश पलायन रोक्न गम्भीर विमर्श गर्नु ।

घ. यस कार्यक्रमको समग्र संयोजन पार्टीको राजनीतिक संवाद समितिद्वारा गरिनेछ ।
ङ. जनसंवाद तथा जागरण यात्राका दौरान निम्न कार्यहरु सम्पन्न गरिनेछ–

  • कोणसभा र जनसभा
  • जनप्रतिनिधिहरु, स्थापित सामाजिक व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा विभिन्न पक्षसँग स्थानीय समस्या र संघीयता कार्यान्वयनसम्बन्धी अन्तरक्रिया एवम् प्रशिक्षण ।
  • विभिन्न उद्यमी, व्यवसायी र उपभोक्ता समूहहरुसँगको अन्तरक्रिया ।
  • कृषि, पूर्वाधारसम्बन्धी अन्तरक्रिया र श्रव्यदृश्य प्रस्तुतीकरण ।
  • स्थान विशेषअनुसार ससाना भेटघाट ।
  • समावेशिता, सुशासन, सदाचार र समृद्धिबारेमा जनसंवाद ।

२. मध्यपहाडी लोकमार्ग यात्राको कार्यक्रम समय–तालिका यसविज्ञप्तिसँगै डाउनलोड गर्न सकिनेछ । 

 


विश्वदीप पाण्डे
प्रमुख, प्रचार विभाग


डाउनलोड