धेरै ढिला भइसक्यो, अब नेता र जनता दुबैले आँखा खोलौँः संयोजक भट्टराई

१७ माघ २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले नेपालका नेता र जनता दुबैले आँखा खोल्न ढिला भइसकेको बताउनुभएको छ । संसारले विकास र समृद्धिमा उल्लेख्य प्रगति गरिसकेको भन्दै नेपालले पर्याप्त सम्भावना भएर पनि प्रगति गर्न नसक्नु दुःखको कुरा भएको उहाँको भनाइ थियो ।

‘संसार कहाँ पुगिसक्यो, हामी नेपाली पार्टीलाई जाति प्रथाजस्तै विश्वासको रुपमा लिइरहेका छौं’, उहाँले भन्नुभयो, ‘अब धेरै ढिला भइसक्यो, नेता र जनताले पनि आँखा खोल्नुपर्यो ।’

विहीबार तेह्रथुमको सदरमुकाम म्याङलुङ्ग बजारमा आयोजित जनसम्वाद कार्यक्रममा बोल्ने क्रममा उहाँले मुलुक भ्रष्टाचारका काण्डै–काण्डमा फसेको समेत बताउनुभयो । ‘कांग्रेस पनि ठूला ठूला काण्डमा फस्यो, मनमोहनपछि एमाले पनि भ्रष्टाचारमा फस्यो’, उहाँले भन्नुभयो, ‘जनयुद्ध लडेकाहरु पनि गुलियोमा झिँगा लट्पटिएजस्तै लट्पटिए, दुई तिहाई बहुमतको सरकार पनि काण्डै काण्डमा रुमल्लियो, हुँदाहुँदा दुई तिहाई बहुमतको सरकार त चर्पी काण्डमा समेत मुछिएको छ ।’

नयाँ शक्ति पार्टीका नेताहरु भन्नुहुन्छः व्यवस्था फेर्ने अभियानबाट अवस्था फेर्ने मिसनमा

तेह्रथुमको सदरमुकाम म्याङलुङ्ग बजारमा आयोजित जनसम्वाद कार्यक्रममा विहीबार बोल्दै नयाँ शक्ति पार्टीका नेताहरुले व्यवस्था फेर्ने अभियानबाट अवस्था फेर्ने मिसनमा नयाँ शक्ति रहेको बताउनुभएको छ । उहाँहरुले राजनीतिक परिवर्तनसँगै अव आर्थिक र मानव विकासमा नयाँ शक्ति पार्टीको जोड रहेको बताउनुभएको छ ।

जनसम्वाद कार्यक्रममा नयाँ शक्ति पार्टीका हेडक्वाटर सदस्य तथा पूर्वमन्त्री परशुराम खापुङले असल लोकतन्त्रको विकास हुन नसक्दा जनताहरुले दुःख पाएको बताउनुभयो । उहाँले लोकतन्त्र औपचारिक विधिमा मात्रै सीमित भएको र जनताको जीवनसँग जोडिन नसकेको बताउनुभयो । खापुङ्गले मुलकमा व्याप्त गरीबी, बेरोजगारीलाई नियन्त्रण गर्न सरकार असफल हुनुमा असल राजनीतिको खडेरी पर्नु मुख्य समस्या रहेको बताउनुभयो । यस्तो अवस्थालाई बदल्न आफूहरु लागिरहेको उहाँको भनाइ थियो ।

नयाँ शक्ति पार्टीकी हेड्क्वार्टर सदस्य एवम् पूर्वमन्त्री हिसीला यमीले नयाँ शक्तिले नेपालको आर्थिक विकास, भौतिक विकास मात्र नभई मानव विकास सूचकांकमा सकारात्मक परिवर्तन ल्याउन पार्टी लागेको बताउनुभयो । उहाँले मध्यपहाडी लोकमार्गलाई सडक मात्रै नभइ आर्थिक आधारको रुपमा पनि हेनुपर्ने भन्दै अव अर्थतन्त्र सुधार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नयाँ शक्ति पार्टीका हेडक्वार्टर सदस्य तथा पूर्वसांसद नवराज सुवेदीले नेपालको राजनीति व्यवस्था फेर्ने लडाइबाट अवस्था फेर्ने मिसनमा पुगेको बताउनुभयो । उहाँले सविधानले आर्थिक समृद्धितर्फ जान दिशानिर्देश गरेता पनि सरकारले त्यसमा काम गर्न नसकेको बताउनुभयो । ठूला पार्टीहरुले पनि व्यावहारिक रुपमा समृद्धितर्फको यात्रा सुरु गर्नेतिर ध्यान नदिएको उहाँको भनाइ थियो ।

पार्टीका प्रशिक्षण विभाग प्रमुख तथा प्रवक्ता डम्वर खतिवडाले मुलकमा एकपछि अर्को भ्रष्टाचार बढेको तर त्यसलाई रोक्नुपर्नेमा सरकार र सत्तामा पुगेका पार्टीहरु गैह्रजिम्मेवार बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकलाई चलाउने राजनीतिप्रति नागरिकको वितृष्णा दुःखद कुरा हो । राजनीतिमा रुपान्तरण गरेर असल राजनीतिक अभ्यास स्थापित गर्दै सबैलाई राजनीतिप्रति आकर्षित गर्नुपर्छ ।’ पहाडमा विकास नभएपछि दक्षिणतिर बसाइसराइ धेरै भएकाले र पहाडको विकासकै लागि मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारेको उहाँको भनाइ थियो ।

जनसम्वाद कार्यक्रममा संयोजक भट्टराई, हेडक्वार्टर सदस्यहरु परशुराम खापुङ्ग, नवराज सुवेदी , गंगा श्रेष्ठ, हिसिला यमी, डम्वर खतिवडा, प्रशान्त सिंह, साथै नेताहरु मदन राई, दुर्गा सोव, कमला गुरुङ्ग, परशुराम श्रेष्ठ, उमेश थापा, विश्वदीप पाण्डे, इश्वर रिजाल, रोशन पोखरेल, सुनिल खड्का लगायतको सहभागिता रहेको छ ।