पुँजीवाद र साम्यवादले सिङ फुकालिसके, नयाँ विचार चाहिन्छः संयोजक भट्टराई

२२ माघ २०७५

 

रामेछाप । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले पुँजीवाद र साम्यवादले जुधेर सिङ फुकालिसकेकोले संसारलाई नयाँ विचार चाहिएको बताउनुभएको छ ।

पार्टीले सञ्चालन गरेको एक महिने जनसंवाद यात्राको क्रममा मंगलबार रामेछापको मन्थलीमा जारी जनसंवादमा बोल्दै उहाँले अहिले पुँजीवाद र साम्यवाद हिजोको अवस्थामा नरहेको र यसले आफ्नो स्वरुप र अवस्था गुमाइसकेको बताउनुभएको हो ।

'हिजोका पुँजीवाद र साम्यवादले एकअर्कासँग जुधेर दुवैले सिङ फुकालिसके,' उहाँले भन्नुभयो, 'मार्क्स फर्केर आए भने पनि उहाँले यही कुरा भन्नुहुन्छ ।' हिजोको अवस्था र आजको अवस्था उही नरहेको उहाँको तर्क थियो ।

अहिले न पुँजीवाद पुँजीवादजस्तो छ । साम्यवाद साम्यवाद जस्तो छैन । 'न्यूटनीय साइन्सलाई मार्क्सले पढ्दा आइन्स्टाइन केवल ४ वर्षका थिए । अहिले त स्टेफन हकिङ्स र म्याक्स प्लांकको विज्ञानसम्म आइपुगेको छ,' उहाँले भन्नुभयो, 'संसार धेरै अघि बढिसक्यो । हिजोको सुत्र घोकेर आजको राजनीति हुँदैन ।'

उहाँले मार्क्सको पालामा उपलब्ध सम्पत्तिको स्वरुपहरुमा नै बदलाव आइसकेको र अहिले मालिक र मजदूर छुट्याउनै मुस्किल रहेको तर्क राख्नुभयो । 'केही मान्छे मात्रै शिक्षित रहेको बेला पार्टी कार्यकर्ता जनताको ज्ञान लिएर जाने तत्कालीन सन्दर्भमा भेनगार्डको अवधारणा विकास गरिएको थियो,' उहाँले भन्नुभयो, 'अहिले साक्षरता दर कहाँ पुगिसक्यो, प्रत्येक मजदूरको खल्तीमा स्मार्ट फोन छ ।' उहाँले पुरानो ढाँचाको पार्टीले २१औं शताब्दीको चेतनालाई नेतृत्व गर्ने लोकतान्त्रिक अभ्यासको सुनिश्चित गर्न नसक्ने बताउनुभयो ।

पुरानै पार्टीमा टाँसिएर बस्दा नेपालीको दिमागमा झ्याउ र लेउ लागेको भन्दै उहाँले हिजोका सुत्र घोकेर आज समृद्धि र मानव सभ्यताको नेतृत्व गर्न नसकिने बताउनुभयो । 'कतिपयले मलाई विचारमा चिप्लियो भन्नुहुन्छ । म मात्रै होइन, सबै चिप्लनुपर्छ,' उहाँले भन्नुभयो, 'पार्टीलाई विश्वासको रुपमा लिएर जातिवादीजस्तै मानसिकता बोकेर अगाडि बढ्न सकिँदैन ।' उहाँले मार्क्स र लेनिन, बिपी आदिले कुन प्रसंगमा बोलेका थिए भनेर याद नगरी सुत्रजस्तै घोकेर मात्रै समृद्धिको नेतृत्व गर्न नसिकने बताउनुभयो ।

 

संयोजक डा. भट्टराईले नेपाली क्रान्तिहरु विजयभन्दा पनि सम्झौतामा टुंगिंनाले पनि नेपाली समाज पछाडि परेको धारणा राख्नुभयो । समृद्धिका लागि सबै शक्ति केन्द्रित गरेर एउटा निर्णायक धक्का दिनुपर्नेमा उहाँको जोड थियो ।

भ्रष्टाचारको दुस्चक्र तोडौं

'जुन सरकार आए पनि एक दर्जन ठेकेदार र विचौलियाहरु शीर्ष नेताहरुको घर चहार्छन् र उनीहरुलाई चास्ती चटाउँछन्,' पूर्वप्रधानमन्त्री समेत रहनुभएको भट्टराईले भन्नुभयो, 'मैले त भोगेरै आएको छु । यो दुस्चक्रबाट निस्कन नसकेसम्म देश विकास हुँदैन । यसबाटै राजनीति नै प्रदूषित भइसकेको छ । कमिशन, चुनाव र सत्ताको दुस्चक्रबाट पार्टी र देशलाई निकाल्नुको विकल्प छैन ।'

उहाँले पहिला पार्टी कार्यकर्ता र जनताले छानेपछि मात्रै चुनावमा उम्मेदवार हुनुपर्ने अभ्यास अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । 'पार्टीका नेताहरु खल्तीबाट उम्मेदवार बनाउनु हुँदैन,' उहाँले भन्नुभयो, 'पार्टी र पार्टी सञ्चालनको ढाँचा पनि फेर्नुपर्छ ।'

सुब्बा र खरदारलाई भ्रष्टाचारी देखाएर ठूला माछा जोगाउने प्रवृत्तिले देशलाई भित्रभित्रै खोक्रो बनाइरहेको उहाँको तर्क थियो ।

यसअघि जनसंवादको क्रममा मंगलबार नै सिन्धुलीको ग्लालटारमा आयोजित अन्तरक्रियामा बोल्दै संयोजक भट्टारईले तीव्र गतिको आर्थिक परिवर्तनबाट नै गरिबी र बेरोजगार अन्त्य हुने बताउनु भयो ।  

'हामीले अहिले नयाँ राजनीतिक अभियान अभियान सुरु गरेका छौं । नेपालमा व्याप्त गरिबी, बेरोजगारी र भष्ट्राचारका विरुद्ध संघर्ष गरेर प्राप्त लोकतन्त्रलाई अझ उन्नत बनाउने र जनताको घरदैलोसम्म पुर्‍याउँदै देशलाई हाम्रै जीवनकालमा समृद्ध बनाउनका लागि नयाँ विचार चाहिन्छ,' उहाँले भन्नुभयो ।

उहाँले क्रान्ति एउटा निरन्तर प्रक्रिया भएकोले यसको रुप र लक्ष्य फेरिएपनि क्रान्तिको अन्त्य नहुने बुझाई राख्नुभयो  

एक महिने जनसंवाद यात्रामा रहेको नयाँ शक्ति पार्टी नेपालले आज ८ औं दिन प्रदेश नं ३ अन्तर्गत सिन्धुलीको कार्यक्रम सकेर रामेछाप पुगेको छ ।