पुरानो विचारमा टाँसिएर अगाडि बढ्न सकिँदैनः संयोजक भट्टराई

३ फागुन २०७५

कास्की  ।  नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले छेपारोले खामो समातेजस्तो गरेर अगाडि बढ्न नसकिने बताउनुभएको छ । 'पुरानो विचार छाडेर नयाँ विचार अपनाउँदा मानिसहरु विभिन्न आरोप लगाउँछन् । छाड्ने कुरा होइन, अगाडि बढ्ने कुरा हो,' उहाँले भन्नुभयो, 'छेपाराले खामो समातेजस्तो गरेर अगाडि बढ्न सकिन्नँ ।'

जनसंवाद यात्राको १८ ‍औं दिन पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्नुहुँदै उहाँले पुरानो विचारविरुद्ध विद्रोहको झण्डा उठाउन आह्वान गर्नुभएको हो ।

'युवाहरुले सधैं विद्रोह गर्नुपर्छ । विद्रोहका स्वरुपहरु फरक हुनसक्छन्,' उहाँले भन्नुभयो, 'विद्रोह कस्तो हुने भन्ने कुरा शासकीय गतिविधिमा निर्भर हुन्छ । आवश्यक पर्दा हतियार पनि उठाउनुपर्छ ।' उहाँले अहिलेको विद्रोह भौतिक संरचना ध्वंस गर्ने नभएर हिजोका संस्कार, सोच, पुरानो विचार भत्काउने विद्रोह वैचारिक विद्रोह हुनुपर्नेमा जोड दिनुभयो ।

 

नयाँ पुस्तालाई पुरानो विचारलाई आस्थाजस्तो गरी टाँसिएर नबस्न संयोजक भटुटराईको आग्रह थियो । 'हामी २०० वर्ष अघि अगाडि सारिएका विचार पछ्याउन मात्र अभिशष्त छैनौं । विज्ञान र सूचना प्रविधिको युगमा हामीले नयाँ गोरेटो हिंड्नुपर्छ,' उहाँले भन्नुभयो ।

उहाँले पुराना दिनहरुको स्मरण गर्दै भन्नुभयो, '८० को दशकसम्म हामी न्यूटनीय विज्ञान मात्रै पढ्थ्यौं, तर अहिले संसार अहिले हरेक क्षेत्रमा अगाडि बढिसकेको छ ।' विद्यार्थीहरुलाई जुन पार्टीमा रहेको भए पनि शिक्षामा आमूल परिवर्तनको पक्षमा आवाज बुलन्द गर्न उहाँले आह्वान गर्नुभयो । ज्ञानलाई के मात्र होइन, किन र कसरीसम्म फैलाउनुपर्ने उहाँको सुझाव थियो ।

 

नेपाल शासकीय असक्षमताका कारण धेरै पछाडि परिसकेको भन्दै तीव्र गतिमा विकासको विकल्प रहेकोमा उहाँको जोड थियो । 'हामी पुरानै कुरा गरेर नबसौं । सयौं बर्ष कुर्ने फुर्सद हामीलाई छैन । संसार धेरै अगाडि पुगिसक्यो,' उहाँले भन्नुभयो ।

 

'युवा विद्यार्थीले कुनै नेता प्रशंसा वा गुणगानमा समय बर्वाद गर्ने होइन, नयाँ कुरा निरन्तर अध्ययन गर्ने हो,' उहाँले भन्नुभयो, 'हाम्रो मष्तिष्को शक्ति अथाह छ । त्यसको लागि आलोचनात्मक चेत हामी सबैमा रहनुपर्छ ।'

सत्यका तीन चरणको चर्चा गर्दै उहाँले सुरुमा उपहास गरिने, दोस्रो चरणमा शक्तिको रुपमा विचार अगाडि आउँदा भौतिक आक्रमण नै गरेर दबाउन खोजिने र तेस्रो चरणमा सबैले स्वयम्सिद्ध तथ्यको रुपमा स्वीकार्ने बताउनुभयो ।  

 

'हाम्रो शिक्षा प्रणाली अपूरो र पूरै पछाडि परिसकेको छ । यसलाई आमूल परिवर्तन नगरी समृद्धिको गफ दिएर मात्र केही हुँदैन,' उहाँले भन्नुभयो, 'गुणस्तरीय शिक्षा नै समृद्धिको सबैभन्दा महत्वपूर्ण आधार हो ।' अहिले विकसित राष्ट्रहरुको विकास त्यहाँको शिक्षा प्रणालीकै कारण सम्भव भएको उहाँको बुझाई थियो ।

एक फरक प्रसंगमा संयोजक भट्टराईले स्वतन्त्र विद्यार्थी युनियनमा दलीय चुनावको फोहोर नभित्र्याउन आग्रह गर्नुभयो । 'स्ववियू चुनाव विद्यार्थीले गर्ने हो, दलीय आधारमा होइन, विद्यार्थीको संयुक्त प्यानल बनाएर एजेण्डाको आधारमा प्रतिष्पर्धा गर्नुहोस्,' उहाँले भन्नुभयो, 'क्याम्पसभित्र आम चुनावको झल्को दिने गतिविधि निन्दनीय हुन्छ ।'