नयाँ शक्तिद्वारा सांसद तामाङ जिम्मेवारी मुक्त, स्पष्टीकरणका लागि तीन दिन समय

१२ फागुन २०७५

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालले सांसद प्रेम तामाङलाई तीन दिनभित्र पार्टी कार्यालयमा उपस्थित भएर जवाफ दिने निर्देशन दिएको छ ।

पार्टीका केन्द्रीय कार्यालय प्रमुख मोती रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिनुभएको हो । तामाङ नयाँ शक्तिको तर्फबाट प्रदेश-३ अन्तर्गत रसुवा निर्वाचन क्षेत्र ‘ख’बाट गत संसदीय निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

रिजालले तामाङका क्रियाकलाप सम्बन्धमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उठेका प्रश्नहरुबारे तीन बुँदे विज्ञप्ति जारी गर्दै जवाफ माग्नुभएको छ । ‘नयाँ शक्ति एक नयाँ, प्रगतिशील-लोकतान्त्रिक अग्रगामी राजनीतिक शक्ति निर्माण गर्ने र देशको समृद्धिकरणको युगमा नेतृत्व गर्ने उद्देश्यबाट स्थापित दल हो । पार्टीको यो महान लक्ष्य र उद्देश्यलाई धुमिल बनाउन गरिने कुनै पनि प्रयाससँग पार्टीले सम्झौता गर्दैन । गर्ने छैन ।,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कुरा माननीय प्रेम तामाङको हकमा पनि उत्तिकै लागू हुन्छन् ।’

विज्ञप्तिमा तामाङ लामो समयदेखि पार्टी सम्पर्कमा नरहेको र केन्द्रीय कार्यकारी सदस्य रहे पनि पार्टी बैठकमा अनुपस्थित भएको स्पष्ट पारिएको छ । ‘निजी महत्वाकांक्षा र अहंकारलाई कार्यशैलीको आधार बनाउने, पार्टीलाई ढाल बनाएर अपारदर्शी आर्थिक क्रियाकलाप गर्नेजस्ता संदिग्ध गतिविधिमा संलग्न भएको देखिन सुनिन आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ, यी विषयमा प्रष्टता नहुञ्जेलसम्म उनलाई आजैका मितिबाट पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको छ ।’

विज्ञप्तिमा सांसद तामाङलाई तीन दिनभित्र पार्टी सम्पर्कमा आउन र आफूबारे उठेका आशंकाहरु प्रष्ट पार्न अनुरोध गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अन्यथा पार्टी विधानको अध्याय ९ र राजनीतिक दल सम्बन्धी ऐन- २०७३ को दफा ३१ बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’


डाउनलोड