बिरुवा रोप्नेबित्तिकै फलको आशा गर्नु अज्ञानता होः संयोजक भट्टराई

२० फागुन २०७५

२० फागुन २०७५ को नयाँ पत्रिका दैनिकबाट साभार गरिएको संयोजक बाबुराम भट्टराईसँगको अन्तरवार्ता

 

नयाँ शक्ति कस्तो हुने भन्ने विषयमा धेरै छलफल र बहसपछि ३ वर्ष लगाएर पार्टी खोल्नुभयो । तर, पार्टीले गति किन लिएन ? 

हामीले पार्टी खोल्न खोजेको होइन, नयाँ युगको आवश्यकता पूर्ति गर्ने ढंगले नयाँ वैचारिक–राजनीतिक दर्शनको विश्वव्यापी रूपमा संश्लेषण गर्न खोजेको हो । दोस्रो, नेपाल लोकतान्त्रिक चरण पूरा गरेर समृद्धिको चरणमा प्रवेश गरेको छ । त्यो समृद्धीकरणका निम्ति आवश्यक राजनीतिक सुशासन र विकासको मार्गचित्रसहितको वैकल्पिक शक्ति निर्माण गर्ने हाम्रो लक्ष्य हो । १८औँ–१९औँ शताब्दीदेखि संश्लेषण भएर पुँजीवाद र साम्यवादका दुईवटा धार आए । २०औँ शताब्दी यही दुई विचारधाराको संघर्षमा बित्यो । शीतयुद्धको अन्त्यसँगै २१औँ शताब्दी सुरु भएपछि त्यो वैचारिक ऊर्जा समाप्त भयो । अहिले विश्वभर नै वैकल्पिक शक्तिको खोजी भइरहेको छ । त्यो भनेको एउटा वैकल्पिक राजनीतिक दर्शनसहितको शक्तिको खोजी हो । यसले केही समय लिन्थ्यो । लिएको छ, तर यसले गति नलिएको भन्ने कुरा मान्दिनँ । क्रमिक रूपमा विस्तारै गति लिन्छ ।

आफूलाई वैकल्पिक शक्ति भन्ने विवेकशील साझा फुट्यो । नयाँ शक्ति पनि कमजोर बन्दै गएको देखिन्छ । यसले वैकल्पिक शक्ति आवश्यक नै छैन भन्ने पुष्टि गर्दैन र ?
आधुनिक इतिहासलाई हेर्दा करिब ५ हजार वर्ष पहिले मानव सभ्यताको युग सुरु भयो । त्यो ५ हजार वर्षमध्ये ४ हजार ५ सय वर्ष अन्धकार र दास–सामन्त युगमै बित्यो । आजभन्दा ४÷५ सय वर्षअघि पुँजीवादी युग सुरु भयो । औद्योगिक क्रान्ति भयो । प्रबोधनको युग आयो । औद्योगिक क्रान्ति भइरहँदा पनि थुप्रै मानिस यो नहुने कुरा हो भन्ने गर्थे । त्यसवेला पनि यसले २÷३ सय वर्ष लिएको थियो । त्यसपछि मात्रै त्यसले निश्चित आकार लिएको थियो । अब २१औँ शताब्दीमा नयाँ युग सुरु हँुदै छ । यसको त २ दशक पनि बितेको छैन । हामी आफैँले विचारअगाडि सारेको तीन वर्ष पुगेको छैन । सयौँ वर्ष लाग्ने कामलाई तीन वर्षमै भएन भन्नु इतिहासप्रतिको अज्ञानता मात्रै हो ।

वैकल्पिक शक्ति भनिनेहरूबीच सहकार्य वा एकता किन हुन सकिरहेको छैन ?
कुनै पनि चिज आविष्कार हुँदा फरकफरक कोणबाट हुने गर्छ । नयाँ शक्तिको अवधारणा मैले नै सुरु गरेको हो । मैले यो कुरा अगाडि सारेपछि स्वतः सबैतिर जिज्ञासा बढ्दै गयो । उदाहरणका लागि, नेपालमा पुँजीवादी धाराको प्रतिनिधित्व गर्ने कांग्रेसको जन्मलाई हेर्न सकिन्छ । त्यसवेला प्रजातान्त्रिक कांग्रेस र राष्ट्रिय कांग्रेस भनेर दुईवटा कांग्रेस पार्टी एकैपटक जन्मिए । लामो समयपछि त्यो पार्टी एक भयो । ००६ सालमा एकैपटक लाल कम्युनिस्ट पार्टी र नेकपा स्थापना भए । एउटाले अहिले कम्युनिस्ट पार्टी स्थापना २२ अप्रिलमा भएको भन्छ, अर्कोले १५ सेप्टेम्बर । राप्रपाजस्तो प्रतिगामी पार्टी पनि एकैपटक दुईवटा जन्मिएका थिए । नयाँ वैकल्पिक धारा पनि उसैगरी जन्मिनु स्वभाविकै हो । हामीले सुविचारित ढंगले वैज्ञानिक चिन्तन–दर्शनमा आधारित भएर विचार अगाडि सारेका छौँ । पुँजीवाद, साम्यवादभन्दा माथि उठेको पछिल्लो ज्ञान–विज्ञानमा आधारित वैकल्पिक शक्तिको कुरा गरेका छौँ । अरू साथीहरूले खाली पार्टीको सांगठनिक कुरा अथवा आंशिक राजनीतिक कुरा गरेका छन् । केही समयपछि एउटा बृहत् धु्रवीकरण हुन्छ र नयाँ वैकल्पिक शक्ति जमेर आउँछ ।

तपाईँले जनयुद्धमा माओवादीलाई फरक शक्ति भन्नुहुन्थ्यो । त्यसलाई छोडेर अहिले नयाँ शक्ति भनेर लाग्नुभएको छ । तर चुनावमा कुनै प्रभाव देखाउन सक्नुभएन नि !

हिजोका कांग्रेस, एमाले, माओवादी भनेका पुँजीवादी क्रान्ति सम्पन्न गर्न जन्मेका पुँजीवादी रुखका अलगअलग धार हुन् । स्वतन्त्रता, समानता र भातृत्व प्रबोधन युगकै हाँगाबिँगा हुन् । त्यसैले, कांग्रेसपछि एमाले, एमालेपछि माओवादी आएर त्यो रुखलाई पूर्णता दिए । त्यो रुखमा लाग्नेजति फल लागिसक्यो, अब केही फल्दैन । अब हामीले नयाँ रुख रोप्दै छौँ । प्रबोधन युगपछिको अर्को युग जन्माउने गरी काम गर्दै छौँ । अहिले नै चुनाव जितेन भन्नु बिरुवा रोप्नेबित्तिकै फलको आशा गर्नुजस्तै हो । त्यस्तो कति उपयुक्त होला ?

मध्य पहाडी लोकमार्गको एक महिना भ्रमण कस्तो रह्यो ?
नेपालमा नयाँ युगको सुरुवातसँगै नयाँ विचार, नयाँ राजनीति, नयाँ संगठित शक्ति, नयाँ संस्कृति विकासको मार्गचित्र खोजी भइरहेको छ । त्यसैले, हामीले मध्यपहाडी लोकमार्ग अभियान चलाएका थियौँ । मध्य पहाड बसोवासको मूल थलो हो । यसको बीचबाट पूर्वदेखि पश्चिमसम्म यात्रा गर्दा नेपालको वास्तविक धरातलको अनुभूति हुन्छ । विकासका समस्या पहिचान हुन्छन् भनेर यात्रा ग-यौँ । हामीले यसको ‘थिम’ नै ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ भनेका थियौँ । जनताबाटै धेरै कुरा सुन्यौँ । खासगरी स्थानीय तहका जनप्रतिनिधि, किसान, उद्यमी, व्यवसायीसँग कुरा गरियो । माघ १५ गतेदेखि फागुन १५ गतेसम्म १ सय ४४ वटा साना–ठूला अन्तरसंवाद ग-यौँ । हामीले ५० हजारजनासँग प्रत्यक्ष र लाखौँसँग परोक्ष रूपमा कुरा ग¥यौँ । हामीले के पायौँ भन्ने जनतामा परिवर्तनको तीव्र आकांक्षा छ । राजनीतिक परिवर्तनपछि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण छिटो होस् भन्ने चाहना छ । त्यो ढिलो हँुदा वा अलमलिँदा थोरै निरास पनि छन् ।

देश संघीयतामा गइसकेपछि स्थानीय तहमा दिइएको अधिकार कार्यान्वयनमा जटिलता देखिएको छ । विकास र समृद्धिको चाहना पूरा नभएको देखियो । पूर्व, मध्य र पश्चिममा असमानता छ । पूर्व अलि अगाडि, मध्य अलि बीचमा र मध्यपश्चिम र सुदूरपश्चिम अझ पछि परेको देखियो । यसरी हेर्दा जनसंवाद यात्राले हामीलाई नयाँ वैकल्पिक शक्ति निर्माण गर्न तीव्र राजनीतिक ध्रुवीकरण अगाडि बढाउन मद्दत पुग्यो । यो यात्रामा हामीले दलगत कुरा गरेनौँ । मूल रूपमा युगीन परिवर्तनका कुरा ग¥यौँ । भएका दलहरूभन्दा माथि उठेर देशको तीव्र आर्थिक विकास र समृद्धिका निम्ति के गर्नुपर्छ भनेर विचार विमर्श ग¥यौँ । त्यसको अर्थ राष्ट्रिय एजेन्डा निर्माण गर्न भ्रमण फलदायी भयो भन्न मिल्छ ।

अहिले दुईतिहाइको सरकार छ । तैपनि विकासका कामले गति लिएको छैन । समस्या कहाँनेर देख्नुहुन्छ ?
खास समस्या युग परिवर्तनको बोध राम्रोसँग नहुनु नै हो । राजनीतिक संचरनाको परिवर्तनपछि त्यसलाई दीगो बनाएर अगाडि लैजान आर्थिक–सामाजिक आधारमा पनि परिवर्तन ल्याउनुपर्छ । तर, त्यो बुझाइ र दूरदृष्टि राजनीतिक नेतृत्वमा छैन । निश्चित लक्ष्य निर्धारण गरेर समयमै पूरा गर्ने ठोस कार्ययोजना छैन । सरकारसँग समग्र मार्गचित्र भएन । उदाहरणका लागि मध्यपहाडी लोकमार्ग मैले नै ०६५ सालमा अर्थमन्त्री हुँदा परिकल्पना गरेर बजेट विनियोजन गरेको थिएँ । मध्यपहाडलाई पूर्वदेखि पश्चिमसम्म जोड्न त्यस्तो राष्ट्रिय मार्ग चाहिन्छ, झिनामसिना साना बाटा बनाएर हुँदैन । कृषिप्रधान अर्थतन्त्र रूपान्तरण गर्न रणनीतिक महŒवका मार्ग बनाउने, त्यसपछि स्थानीय तहका सहायक मार्गहरू निर्माण गर्ने भनेर पूर्व–पश्चिम मार्ग र उत्तर–दक्षिण कोसी, गण्डकी र कर्णाली करिडोरको अवधारणा अगाडि सारेको थिएँ । त्यो एक किसिमको भिजन थियो । त्यसलाई मात्र समातेर जान सकेको भए पनि सरकारले केही परिणाम देखाउन सक्थ्यो । यस्तै, मैले राष्ट्रिय गौरवका आयोजना १७ वटा राखेको थिएँ । ती आयोजनालाई अघि बढाएको भए पनि परिणाम देखिने थियो । आयोजना सञ्चालनमा भएको भए १०औँ लाखलाई रोजगारी दिन सकिन्थ्यो । तर, त्यो दूरदृष्टि अहिलेको सरकारमा देखिएन । दूरदृष्टि र कार्ययोजनाको अभाव नै मुख्य समस्या हो ।

हामीले सुविचारित ढंगले वैज्ञानिक चिन्तन–दर्शनमा आधारित भएर विचार अगाडि सारेका छौँ । पुँजीवाद, साम्यवादभन्दा माथि उठेको पछिल्लो ज्ञान–विज्ञानमा आधारित वैकल्पिक शक्तिको कुरा गरेका छौँ । अरू साथीहरूले खाली पार्टीको सांगठनिक कुरा अथवा आंशिक राजनीतिक कुरा गरेका छन् । केही समयपछि एउटा बृहत् धु्रवीकरण हुन्छ र नयाँ वैकल्पिक धार शक्ति जमेर आउँछ ।

तपाईंले भनेजस्तो परम्परागत पार्टीले पनि विकास र समृद्धिलाई अगाडि बढाउन नसक्ने, वैकल्पिक शक्ति पनि नेतृत्व गर्ने गरी अगाडि आउन नसक्ने । विकास र समृद्धिका लागि जनताले अब कति समय प्रतीक्षा गर्नुपर्ने हो ?
जनताले अब लामो प्रतीक्षा गर्नुपर्दैन । हाम्रो यो भ्रमणपछि के लाग्यो भने जनतामा नयाँ चेत पलाएको छ । तीव्र रूपमा आर्थिक समृद्धि नगरी हुँदैन, हामीलाई १०औँ वर्ष लगाउने समय छैन भन्ने सोच पायौँ । यही एकदुई दशकभित्रै बेरोजगारी, गरिबीमुक्त सम्मुनत आर्थिक–सामाजिक संरचना निर्माण गर्नुपर्छ भन्ने चाहना जनस्तरमा छ । त्यसलाई हामीले ठीक ढंगले सम्बोधन गर्न छिट्टै विकल्प दिन सक्छौँ ।

तपाईं पार्टी बनाउने अभियानमा लागिरहनुभएको छ । तर, तपाईंकै नेता, सांसदहरू पार्टी छोडिरहेका छन् । यो चालाले वैकल्पिक शक्ति बन्न सक्नुहुन्छ त ?
त्यो सत्य होइन । अनावश्यक प्रचार गरेर उहाँहरूले हेलिकोप्टर बोकेर पद र पैसाको प्रलोभनमा पारेर जानुभयो र रित्तो हात फर्किनुभयो । मिडियाले पनि भनिरहेको छ । त्यो पुराना शक्तिहरूको खेल फोहोरी र घिनलाग्दो थियो । त्यसकै विकल्प हामीले दिन खोजेको हो । त्यस्तो मान्छे नै किनबेच गर्ने राजनीति होइन, समाज रूपान्तरण गर्ने नयाँ मूल्य र मान्यताको असल राजनीति गर्नुपर्छ भन्ने हो । त्यसका लागि केही समय लाग्छ । अन्तिममा सत्य र न्यायको विजय हुनेछ ।