अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा दबाब कार्यक्रमसहित अन्तर्क्रिया गर्दै नयाँ शक्ति

२३ फागुन २०७५

काठमाडौं । नयाँ शक्ति निकट महिला शक्ति महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा शुक्रबार दबावमुलक प्रदर्शनसहित अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

फागुन २४ अर्थात् मार्च ८ मा आयोजना गरिने पहिलो कार्यक्रम माइतीघर मण्डलामा बिहान १० बजे हुनेछ । 'लैंगिक समानता र आमाको नाममा निःशर्त नागरिकताको निम्ति माइतीघर मण्डलामा दबावमुलक प्रदर्शन गरिने महिला शक्ति महासंघ नेपालले जनाएको छ । माइतीघरमा हुने दबावमुलक कार्यक्रममा दुर्गा सोब र पिंकी गुरुङले सम्बोधन गर्नुहुनेछ ।

शुक्रबार नै नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय कार्यालयमा 'लैंगिक विभेदरहित समाज निर्माण' विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेतृहरु बन्दना ढकाल र मानुषी यमि भट्टराईहरुले सम्बोधन गर्नुहुने नयाँ शक्ति पार्टीकी हेडक्वार्टर सदस्य हिसिला यमीले जानकारी दिनुभयो । 

हरेक वर्ष आठ मार्चको दिन मनाइने अन्तर्राष्ट्रिय महिला दिवसमा यसपटक 'अझ बढी सन्तुलन, अझ सुन्दर संसार' नारासहित  #BalanceforBetter लाई मुख्य थिमको रुपमा लिइएको छ ।