महिला अधिकारका लागि संविधान संशोधन गर्नुपर्छः संयोजक भट्टराई

२४ फागुन २०७५

 

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले महिला अधिकार प्राप्तिका निम्ति अहिलेको संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

महिला शक्ति महासंघ नेपालद्वारा १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित 'लैंगिक विभेदरहित समाज निर्माण' विषयक अन्तर्क्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।

संयोजक भट्टराईले आमाको नामबाट पनि सहजरुपमा नागरिकता पाउने अवस्था सिर्जना गर्न कानून बनाएर मात्र नहुने बताउनुहुँदै संविधानमा भएका विभेदकारी व्यवस्थाहरु नै संशोधन गर्नुपर्ने बताउनु भयो

' अन्तर्राष्ट्रिय महिला दिवसलाई एक कर्मकाण्ड हैन, साँच्चै तीनवटै लिंगीको सबै क्षेत्रमा बराबरी हक र सम्मानको प्रत्याभूति गर्ने अभियानको बिम्वको रूपमा ग्रहण गरौं,' उहाँले भन्नुभयो, 'तत्काल संविधानको धारा ११ र कानूनमा रहेको नागरिकता सम्बन्धी लैंगिक विभेद अन्त्य गर्नुपर्छ ।'

संयोजक भट्टराईले महिलालाई समानरुपले अगाडि बढ्न सांस्कृतिक र आर्थिकरुपले समेत बाधा पारेकोले पुरातनवादी संस्कृतिको ठाउँमा नयाँ लोकतान्त्रिक संस्कृति स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले महिलालाई आर्थिकरुपले समान अधिकार नदिएसम्म समानताको पाइला अगाडि नबढ्ने धारणा राख्नुभयो ।

उहाँले नयाँ शक्ति पुराना शक्तिको हाँगा नभएको र यो अवसर नपाएकाको असन्तुष्ट समूह नभई नयाँ विचारसहितको शक्ति भएको बताउनु भयो ।

 

कार्यक्रममा बन्दना ढकालले मिडियामा महिलाहरुका विषय राम्ररी नसमेटिएको बताउनुहुँदै सम्पादकहरुमा महिला नभएसम्म महिलाहरुको मर्म बुझ्ने गरी पत्रपत्रिकामा समाचार आउन नसक्ने बताउनुभयो । उहाँले पत्रकारहरुले महिलाको विषयमा समाचार लेख्दा लिंगीय संवेदनशीलतालाई समेत ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, नयाँ शक्ति पार्टी काठमाण्डौका संयोजक मानुषी यामीले महिलाहरुलाई हरेक क्षेत्रमा हतोत्साहित गर्ने संस्कृति रहेको बताउनुहुँदै कतिपय अवस्थामा आफु समेत त्यसबाट पीडित बन्नुपरेको बताउनु भयो ।

अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता राष्ट्रिय महिला आयोगका पूर्व सदस्य एवम् नयाँ शक्ति पार्टी नेपालकी नेत्री मनु हुमागाईले गर्नुभएको थियो । अन्तर्क्रिया कार्यक्रमअघि पूर्वमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालकी हेडक्वाटर सदस्य हिसिला यमीको नेतृत्वमा माइतिघर मण्डलामा महिलाहरुले नारा जुलुस गर्दै समानताको माग गर्नुभएको थियो । विरोध प्रदर्शनमा नेतृ यमी र पिंकी गुरुङले सम्बोधन गर्नुभएको थियो ।