संयुक्त प्रेस वक्तव्य - २०७३ जेठ २९

२९ जेठ २०७३

सम्पूर्ण पत्रकार साथीहरु !

१.    तपाईंहरुलाई यो संयुक्त वक्तव्य मार्फत संघीय जनमुक्ति पार्टी र नयाँ शक्ति नेपाललाई समायोजन गरी हामीले नयाँ शतिm नेपाललाई देशको एउटा बैकल्पिक राजनीतिक शक्ति निमार्ण गर्न सहमत भएको सन्देश सुनाउन पाउँदा सुखद् अनुभूति गरेका छौं ।

२.    संघीय जनमुक्ति पार्टी र नयाँ शक्ति नेपालबीच र्शीर्ष तहमा र वार्ता कार्यदल गठन गरी उक्त वार्ता कार्यदलका तहमा विगत चार महिनादेखि निरन्तर छलफल हुँदै आएको थियो । उक्त छलफल बैचारिक, राजनीतिक, सांगठनिक र तत्कालीन राजनीतिक परिस्थितिमा समेत केन्द्रित हुँदै आएको थियो । द्विपक्षीय लामो छलफल र विमर्शपश्चात देशको विद्यमान राजनीतिक अवस्था र परिस्थितिलाई समेत मध्यनजर गरी हामी समायोजनको ऐतिहासिक निर्णयमा पुगेका हौं ।

३.    आज देशमा पहिचान सहितको संघीयताको दृढतापूर्वक कार्यान्वयनको सवाल गम्भीर बनेको छ । गणतन्त्र, संघीयता, धर्म–निरपेक्षता र समावेशी एवं समानुपातिक पद्धति जस्ता उपलब्धीहरु विगतका सबै सशस्त्र संघर्ष, जनयुद्ध, जनआन्दोलन, आदिवासी जनजाति, तराई–मधेस, महिला, दलित, थरुहट/थारुवान आदि सबै आन्दोलनका परिणामहरु हुन् । तर विद्यमान सरकारबाट संघीयताको कार्यान्वयनमा गम्भीरता नदेखाइएको मात्र होइन, संघीयताका बिरुद्ध अभिव्यक्ति दिने र संघीयताका विरोधीहरुसँग साँठगाँठ र गठजोड गर्ने काम भएको छ । २०७३ असोज ३ गते जारी संविधानको अपूर्णताका कारण आदिवासी जनजाति, तराई–मधेस, मगरात, लिम्बुवान, खम्बुवानका जायज विषयहरुलाई सम्बोधन गर्न सरकार चुकेको छ । संघीयतामा सिमांकनको सवाललाई पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समिति तथा राज्य पुनर्संरचना आयोगको सिफारिशलाई आधार मानेर गरिनु नै वैज्ञानिक हुन्छ तर सरकार त्यस दिशाप्रति उदासीन बनेको छ ।

४.    भ्रष्टाचार देशको गम्भीर समस्याका रुपमा रहेको छ । राजनीतिक क्षेत्र तथा राज्यका विभिन्न निकायमा व्याप्त भ्रष्टाचार र कमिशनतन्त्रका कारण देशको अर्थतन्त्र खस्केको छ । महंगी झण्डै दश प्रतिशत भन्दा उकालो लागेकाले आज जनता कष्टकर जीवन जिउन वाध्य छन् । अत्यधिक आयात एवं बिप्रेषणबाट धानिएको अर्थतन्त्र झन् पछि झन् खस्किएको छ । आर्थिक वृद्धिदर लगातार घट्दो छ । भूकम्पपीडितहरुको राहत, पुनस्र्थापना र पुनर्निर्माणको कामले कुनै गति पाउन सकेको छैन ।

५.    उपरोक्त परिस्थितिबीच देशमा क्रियाशील पुराना शक्ति, पुराना चिन्तन एवं पुरानो कार्यशैलीले कुनै निकास नमिल्ने प्रष्ट छ । अत: देशमा नयाँ र सशक्त वैकल्पिक शक्तिको खाँचो महशुस गर्दै त्यसलाई पुर्ति गर्न आज हामी संघीय जनमुक्ति पार्टी र नयाँ शक्ति नेपाल समायोजित भई नयाँ शक्ति निर्माणको अभिभारालाई निरन्तर बढाउने संकल्प गरेका छौं ।

६.    हामी दुबै शक्तिहरुका आ–आफ्नै ऐतिहासिक सन्दर्भ र पृष्ठभूमिहरु छन् । संघीय जनमुक्ति पार्टी आफ्नो पूर्ववर्ती संगठन राष्ट्रिय जनमुक्ति पार्टी हुँदै २०४७/४८ देखि लामो इतिहास कायम गरी आएको हो भने नयाँ शक्ति नेपाल विभिन्न आरोह अवरोह पार गर्दै सबै खाले सशस्त्र, निशस्त्र शान्तिपूर्ण आन्दोलनबाट आएका राजनीतिक व्यक्तित्व, क्षेत्र र कतिपय विज्ञहरुको समेत संगम बनेको छ । यसले अनेक खाले अवरोध र चुनौतिहरुलाई सामना गर्दै देशको आर्थिक समृद्धि र विकासलाई मूर्त र योजनाबद्ध रुपमा अगाडि बढाएको छ । यस स्थितिमा दुबै शक्ति आज नयाँ प्लेटफर्ममा आएका छौँ । साथै देशका अन्य बाँकी शक्तिहरुलाई समेत सामेल गर्दै रुपान्तरणकारी नयाँ वैकल्पिक शक्ति बन्ने अठोट लिएका छौं ।

७.    संघीय जनमुक्ति पार्टीको जेठ २८ र२९ मा सम्पन्न महाधिबेशनले नयाँ शक्ति नेपालसँग समायोजन हुने संस्थागत निर्णय गरेको छ । त्यसप्रति हार्दिक आभार व्यक्त गर्दै नयाँ शक्ति नेपालको सचिवालय, केन्द्र, विभाग, प्रदेश र जिल्लाहरु तथा स्थानीय तहसम्म समायोजन गर्ने निर्णय गरेका छौँ । त्यसका लागि अन्तरिम काम सम्पन्न गर्न दुबै शक्ति सामेल भएको एक कार्यदल गठन गरेका छौं ।

८.    जेठ ३० गते दशरथ रंगशालामा सम्पन्न हुने वैकल्पिक राजनीतिक पार्टी घोषणा सभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय लिएका छौं । पार्टी स्थापना राष्ट्रिय भेलाको प्राविधिक कार्य दुवै शक्तिको सहमतिले तय गर्ने निर्णय गरेका छौं ।

९.    जेठ ३१ र ३२ गतेको बन्द–सत्रको छलफलमा दुबै शक्तिका दस्ताबेजलाई संयोजन गरी एउटै बनाई पेश गरिनेछ र महाधिवेशनसम्म छलफलमा लगिनेछ ।

१०.    अन्तमा, समायोजनको संवाद छलफलमा खट्ने सबै नेता–कार्यकर्ताहरु र उपस्थित पत्रकारहरु सबैलाई हार्दिक धन्यवाद दिन्छौं ।


–––––––––––––––––––––––––
परशुराम तामाङ
अध्यक्ष
संघीय जनमुक्ति पार्टी
–––––––––––––––––––––––––
डा. बाबुराम भट्टराई
संयोजक
नयाँ शक्ति नेपाल


२०७३ जेठ २९

डाउनलोड