प्रेस विज्ञप्ती

२ असोज २०७३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को २५ वुँदे संयुक्त विज्ञप्ती जारी गर्दै भारत भ्रमण सम्पन्न भएको छ । संयुक्त विज्ञप्तीमा समेटिएका विषयहरुको आँकलन गर्दा रुपमा भ्रमण सफल भएको तर सारमा भ्रमण सफल भन्न केही समय कुर्नुपर्ने निम्न बुँदाहरुले स्पष्ट गर्ने नयाँ शक्ति पार्टी, नेपाल ठान्दछ ।

– खासगरी विश्व बैंक लगायतका दाता राष्ट्रहरुले भूकम्प पीडितहरुकालागि वितरण गर्ने भनिएको राहत रकम थप गर्न नमानिरहेको सन्दर्भमा सो रकम भारतीय सहयोगबाट जुटाउन सफल विदेशी लगानीको संरक्षण गर्ने प्रतिवद्धता, पशुपतिनाथको पुनर्निर्माण र जिर्णोद्धार गर्ने कुरा, हुलाकी मार्ग निर्माणको कामलाई तीव्रता दिने, पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेश्रो परियोजनाहरुको काम अघि बढाउने, थप एयर रुट माग्ने विषयमा थप छलफल गर्दै जाने, संविधानका बारेमा सबै पक्षलाई सहमत गराउन भएको प्रयत्न सह्रानीय, पेट्रोलियम पाइपलाइनको काम अघि बढाउने, रेलवे लाईन विस्तार जस्ता विषयहरु भारत भ्रमणका वखत जारी संयुक्त विज्ञप्तीका मुख्य विषयहरु हुन् ।

– विगतमा बिप्पा सम्झौताको विरोध गरेर राष्ट्रवादी दावी गर्ने पार्टीको नेताको हैसियतले बिना कुनै पश्चात्ताप विदेशी लगानीको संरक्षण गर्ने प्रतिवद्धता, विवादास्पद भनिएका पञ्चेश्वर, माथिल्लो कर्णाली, अरुण लगायतका परियोजना अघि बढाउने प्रसंग, हुलाकी मार्ग आफैं बनाउने विगतको आफैं सम्मिलित सरकारको पारित नीति कार्यक्रम तथा बजेट प्रतिकुलको सहमति, पेट्रोलियम पाइपलाइन निर्माणलाई अघि बढाउने जस्ता थुप्रै विषयमा कथनी र करनीमा देखिएको भिन्नताले देशभित्र र बाहिर समेत थुप्रै संशय र अन्यौल सिर्जना गर्नेछ । यसको चित्तबुझ्दो जवाफ देश र जनताले खोज्नेछन् ।
– सबैभन्दा अनौठो लाग्ने सम्झौतामा नलेखिएको तर पत्रकार सम्मेलनमा गरिएको प्रधानमन्त्रीको प्रतिउत्तर, लिखित भाषणको अन्तमा घुसाइएको भारतले अन्तर्राष्ट्रिय स्तरमा बढाउँदै गरेको भूमिकाको सह्राहना गर्दै अन्तर्राष्ट्रिय संस्थाहरुमा भारतको भूमिकाको पक्षमा पूर्ण रुपमा उभिने प्रतिवद्धता व्यक्त गर्दछ भन्ने कुराले स्वतन्त्र राष्ट्रको सन्तुलित कुटनीति तथा पञ्चशीलको मान्यता समेतको धज्जी त उडाउँछ नै, कुटनैतिक हिसाबले पनि यस्ता अभिव्यक्तिलाई विल्कुल अपरिपक्व समेत ठान्ने गरिन्छ । यस्ता अभिव्यक्तिले नेपालको स्वतन्त्र अस्तित्व र स्वाधीनतामा धब्बा लाग्ने काम भएको छ भने अन्य मित्रराष्ट्रहरुसँगको सम्बन्धमा दरार ल्याउने समेत खतरा पैदा गरेको छ ।
– अन्तमा, संविधानका बारेमा सरकार नब्बे प्रतिशतको दम्भ पाल्ने, भारत सबै पक्षको स्वीकार्यता खोजिराख्ने, देशभित्र मधेशी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंग आफ्नो अधिकारकालागि फेरि आन्दोलनकै बाटो रोज्ने विकल्पका बावजुद सबैको मिलनविन्दू पहिचान गर्न जरुरी छ । देशभित्रको समस्याको समाधान र छिमेकीहरुसँगको सम्बन्धको सुधार र सुदृढीकरणमा नै प्रचण्ड सरकारको सफलता ठहरिनेछ । सरकार शान्ति, स्थायित्व र आर्थिक समृद्धि प्राप्त गर्ने वातावरण तयार गर्न सफल रहोस् । नयाँ शक्ति पार्टी, नेपाल यही कामना गर्दछ ।

खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड