संविधान दिवसको उपलक्ष्यमा नयाँ शक्ति नेपालले व्यक्त गरेको शुभकामना सन्देश !

३ असोज २०७३

                       बिषय : शुभकामना सन्देश

नयाँ संविधान निर्माण भई जारी भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा एकाथरीले दीपावली मनाउने र अर्काथरीले कालो दिन मनाउने स्थिति आउनु सुखद कुरा होइन । संविधान जारी गर्दाकै बखत अपुग भएका र संशोधन गर्ने बाचा गरिएका कुराहरु आजका दिनसम्म पनि पूरा गर्न नसक्दा यो स्थिति उत्पन्न भएको नयाँ शक्ति पार्टी, नेपाल ठान्दछ ।

असन्तुष्ट मधेसी, थारु, महिला, दलित, जनजाति र मुस्लिमहरुको अधिकार स्थापित गर्ने र पहिचान र सामर्थ्यका आधारमा संघीय संरचना निर्माण गर्ने गरी संविधान संशोधनमार्फत संविधानलाई पूर्णता दिन र संविधानको स्वीकार्यता स्थापित गरी संविधान कार्यान्वयनमार्फत आर्थिक समृद्धिको चरणमा मुलुकलाई अगाडि बढाउनको निम्ति नयाँ शक्ति पार्टी, नेपाल आग्रह गर्दछ ।

नयाँ शक्ति पार्टी, नेपाल जनताको स्वीकार्यताबिना संविधान कार्यान्वयन सम्भव छैन भन्ने कुरा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै छिटोभन्दा छिटो संविधान संशोधन गरी जनताको अधिकार स्थापित गर्न माग गर्दछ ।

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको प्रथम वार्षिकोत्सवको अवसरमा सबैलाई आ-आफ्नो दलगत, समूहगत र व्यक्तिगत संकीर्णताभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्दै समृद्ध नयाँ नेपाल निर्माण गर्ने प्रेरणा र शक्ति प्राप्त होओस् भन्दै नयाँ शक्ति पार्टी, नेपाल हार्दिक शुभकामना व्यक्त गर्दछ ।
मिति : २०७३ असोज ३ गते

 

खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड