प्रेस विज्ञप्ती

१२ असोज २०७३

धादिङ जिल्लाको मार्पाक गाविसस्थित लपाङमा मंगलबार जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी क्षेत्र दार्खाको किन्ताङफेदी जाँदै गरेको मिनिबस दुर्घटना हुँदा बुधबार बिहानसम्म १९ जनाको मृत्यु भइसकेको छ भने दर्जनौं घाइतेको अवस्था गम्भीर छ । यस दुःखद घटनामा परी ज्यान गुमाउने मृतकहरुप्रति नयाँ शक्ति पार्टी, नेपाल हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ साथै शोक सन्तप्त परिवारजनमा हार्किद समवेदना व्यक्त गर्दछ ।
दसैं र तिहारको मुखमा भएका यस्तो दुःखद र हृदयविदारक दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति र घाइतेको शिघ्रातिशिघ्र उपचारको हामी सरकारसमक्ष जोडदार माग गर्दछौं ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत भदौमा मात्र देशभर एक हजार तीन सय ९६ दुर्घटना भएका छन् । जसमा एक सय ६० जनाको मृत्यू भएको छ । नेपालमा हाल रहेको ८१ हजार किमि सडकमा केवल ३० हजार किमि मात्रै सडक गुडाउन योग्य रहेको सम्बन्धित निकायले बताइरहेको बेला सरकारको लाचारी, यातायात व्यावसायीहरुको लापर्वाही र यात्रुहरुमा रहेको सचेतनाको कमीले सडक 'मान्छे मार्ने उद्योग'को रुपमा विकास भइरहेको छ ।
हामी सडक दुर्घटना न्यूनिकरणका लागि तत्काल उपयुक्त कदम अगाडि बढाउन सरकारसँग जोडदार माग गर्दछौं र यातायात व्यावसायी र यात्रुहरुलाई पनि आवश्यक सचेतना अपनाउन अपिल गर्दछौं ।

खिमलाल देवकोटा
प्रवक्ता

डाउनलोड