नयाँ शक्तिको केन्द्रीय कार्यकारी समितिको बैठकको जानकारीबारे प्रेस विज्ञप्ति

६ मंसिर २०७३

प्रेस विज्ञप्ति
नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट आरम्भ भएको छ । बैठकको आरम्भमा संयोजक डा. बाबुराम भटटराईले पार्टीका केन्द्रीय कार्यकारी परिषद सदस्य तथा प्रचार विभाग सदस्य विश्वदिप पाण्डेका बुवा, पार्टीका संस्थापक सदस्य तथा सांसद श्री भक्तिप्रसाद पाण्डेको असामयिक निधनप्रति श्रद्धान्जली व्यक्त गर्दै एक शोक प्रस्ताव पारित गरयो ।


बैठकमा विशेष राजनीतिक समितिको निर्णयअनुसार मातृभुमिका लागि युवा अभियानका संयोजक सुनिल खडका र पुर्व डिआईजी अशोक श्रेष्ठलाई केन्द्रीय कार्यसमितिमा थप गरिएको, अर्का केन्द्रीय कार्यकारी सदस्य सोनाम छिरिड शेर्पाविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले पार्टीको विधानबमोजिम स्वतः निलम्बन भएको र मुमाराम खनाललाई अनुशासन आयोगको छानबिन प्रक्रिया चलिरहेका सन्दर्भमा तत्काल जिम्मेवारीबाट मुक्त गरेको अवस्थाको र नेकपा (माले समाजवादी)संग वार्ता भै पार्टीमा समायोजन हुने भएकाले सो पार्टीका अध्यक्ष सुभास काफ्ले र महासचिव गोविन्द पौडेललाई बैठकमा आमन्त्रण गरिएको जानकारी गराउनुभयो ।

विशेष आमन्त्रितका रुपमा मातृभुमिकालागि युवा अभियानका महासचिव विष्णु दाहाल, संयोजकको प्रमुख रणनीतिक सल्लाहकार प्रशान्त सिंह  तथा जलस्रोत विज्ञ डा. लक्ष्मी प्रसाद देवकोटा रहेको जानकारी गराउनुभयो ।


सातै प्रदेशका संयोजकहरुसहित राष्ट्रिय मामला, सम्पर्क सयन्त्र र आंगिक संगठहरुकातर्फबाट संक्षिप्त रिपोर्टिङ भयो । यसपश्चात् अघिल्लो बैठकले गठन गरेका विभिन्न कार्यदलको कार्ययोजना प्रस्तुत गर्ने काम सम्पन्न भयो । जसमा वैचारिक राजनैतिक प्रचार तथा सांस्कृतिक कार्ययोजना डम्बर खतिवडा, संगठन देवेन्द्र पौडेल, सामाजिक अभियान गंगा श्रेष्ठ, संसदीय मामला केशव दाहाल, कार्यालयबारे केशवमान शाक्य, उत्पादन कार्ययोजना डा. लक्ष्मी देवकोटा, आर्थिक मामलाबारे रामेश्वर खनालले कार्ययोजना प्रस्तुत गर्नुभयो ।


भोलिबाट ती सबै कार्ययोजनाहरुबारे भोलिको बैठकमा टिप्पणी तथा सुझाव राख्ने काम सम्पन्न गर्ने गरी मंगलबार ११ बजेसम्मका लागि आजको बैठक स्थगित भयो ।


यो बैठकले पार्टी निर्माणको दिशामा कोशेढुंगा बनाउने हेतुसहित प्रत्यक्ष निर्वाचन र प्रत्याव्हानको बन्दोबस्तसहित पार्टी निर्वाचनको प्रकृयामा जाने तयारी गर्ने अपेक्षासहित वैकल्पिक राजनीतिकै नयाँ धार सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

खिमलाल देवकोटा
प्रवक्ता